कुश्मामा सञ्चालित ह्याण्डबलको सात दिवसीय तालिम समापन

839
views

निर्मल पौडेल
पर्वत । पर्वतको कुश्मामा सञ्चालन भैरहेको ह्याण्डबल खेल सम्बन्धी साताब्यापी प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

औपचारिक कार्यक्रमकाबीच तालिमको समापन गर्दै प्रमुख अतिथि तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले ह्याण्डबल खेलको क्रेज देशव्यापी रुपमा बढिरहेको बताए ।

नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहेका गुरुङले खेलका माध्यमबाट समाज र देशको सेवा गर्न तल्लीन भएर लाग्नुपर्ने र तालिममा लिएको ज्ञान सीपलाई निरन्तर अभ्यासबाट निखारपन ल्याउनुपर्ने कुरामा सजग रहन प्रशिक्षार्थीहरुलाई ध्यानाकर्षण गराए ।

उनले जिल्ला ह्याण्डबल संघ पर्वतले निकट भविश्यमा आयोजना गर्ने विद्यालयस्तरीय ह्याण्डबल टु«नामेन्टका लागि आवस्यक ट्रफी, मेडल र प्रमाणपत्र नेपाल ह्याण्डबल संघले सहयोगस्वरुप उपलब्ध गराउने पनि जानकारी दिए ।

तालिमको समापन समारोहमा बोल्दै जिल्ला तेकवान्दो संघका अध्यक्ष तथा नमुना आवासीय माविका प्राचार्य इन्द्रमान खत्रीले अरु खेलको तुलनामा ह्याण्डबल खेलले सबैजसो खेलाडीलाई सक्रिय बनाउने तथा दर्शकहरुलाई पनि मनोरञ्जन प्रदान गर्ने भएकाले ह्याण्डबलप्रति पछिल्लो समयमा सबैको ध्यान पुगेको बताए ।
शिवालय माविका प्रधानाध्यापक भुपेन्द्र चपागाईले खेल, अनुशासन र शिक्षा एक अर्काका परिपूरक भएकाले विद्यालय शिक्षाका साथसाथमा खेलकुदलाई पनि अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।

जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडीले जिल्लामा हराउँदै गएको ह्याण्डबल खेललाई पुनजागृत गर्न तालिमको आयोजना गरिएको बताए ।

कार्यक्रममा आदर्श आवासीय माविका प्रिन्सिपल हिमबहादुर पौडेल, नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक, जाइकाका स्वयंसेवी प्रशिक्षक केन्जी इसिहारा, पूर्व खेलाडी मञ्च नेपालका सह–कोषाध्यक्ष महेश पौडेल, नेल्टा पर्वतका अध्यक्ष देव शर्मा, जिल्ला खेलकुद विकास समितिका सदस्य साजन श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शालिकराम अधिकारी, एथलेटिक्स प्रशिक्षक बिष्णुप्रसाद नेवार, कराँते प्रशिक्षक राम श्रेष्ठलगायतका बक्ताहरुले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको ज्ञान सीपलाई व्यवहारमा उतार्न र अरु साथीहरुलाई पनि सिकाउन शुभकामना दिएका थिए ।

तालिममा सहभागी ४४ जना खेलाडी र सहभागी विद्यालयहरुलाई सहभागिताको प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको सौजन्य नमुना आवासीय मावि र नमस्ते बुक्स एण्ड स्टेशनरीले गरेका थिए भने प्याब्सन पर्वतले अतिथि सत्कारको व्यवस्था गरेको थियो ।

तालिमको सफल सञ्चालनका लागि पूर्व खेलाडीहरु गोविन्द श्रेष्ठ, ज्ञानेन्द्र जोशी, प्रकाश कर्माचार्य, उत्तम कर्माचार्य, केदार कर्माचार्य, राजेश कुमाल, नारायण कुमाललगायतकाले ठूलो योगदान गरेको संघका सचिव निलराज पुरीले जानकारी दिए ।

तालिममा केन्जी इसिहारा र रमेश श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । यही मंसिर २२ गते कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले तालिमको उद्घाटन गरी आज २८ गतेसम्म सञ्चालन भएको तालिममा कुश्मास्थित नारायण माध्यमिक विद्यालय, शिवालय माध्यमिक विद्यालय, नमुना आवासीय मावि, कालीगण्डकी एकेडेमी, आदर्श आवासीय मावि, गुरुकुल आवासीय मावि, शहिदस्मारक आवासीय मावि र सशस्त्र प्रहरी बलका गरी कूल ४४ जना सहभागी बनेका थिए ।