‘अमेरिकी चुनावमा रुसको संलग्नता’ के खुलासा गरेको छ नयाँ प्रतिवेदनले ?

520
views

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा प्रभाव पार्न रुसले सबै महत्त्वपूर्ण सामाजिक सञ्चारमाध्यमको प्रयोग गरेको एउटा रिपोर्टले दाबी गरेको छ । नयाँ अनुसन्धानले यूट्यूब, टम्ब्लर, इन्स्टाग्राम र पेपाल साथसाथै फेसबुक र ट्वीटर प्रचारप्रसार फैलाएर फाइदा लिनका लागि प्रयोग भएको जनाएको छ ।

अमेरिकाको सिनेटले सोमवार सार्वजनिक गरेको प्रतिवेदनले रुसको गलत सूचनाको प्रयास कतिसम्म थियो भन्ने उदाङ्गो पारेको छ । उक्त रिपोर्टका लेखकहरूले प्रविधिसम्बन्धी कम्पनीहरूले ढिला र असंगठित ढंगले जनाएको प्रतिक्रियाको आलोचना गरेका छन्।

अनौठो र विवादित अमेरिकी चुनाव
उक्त रिपोर्ट अक्स्फर्ड विश्वविद्यालयको ’कम्प्यूटेशनल प्रोपोगाण्डा प्रोजेक्ट’ र सामाजिक सञ्जालको विश्लेषण गर्ने कम्पनी ’ग्राफिका’ले संयुक्त रुपमा तयार गरेको हो । फेसबुक, ट्वीटर र गुगलले सिनेटको गुप्चतरसम्बन्धी समितिमा प्रदान गरेको लाखौं सामाजिक सञ्जालका पोष्टहरूको यो विश्लेषण पहिलोपटक गरिएको हो ।

फेसबुक र ट्वीटरले यसअघि नै रुसी हस्तक्षेपबारे खुलासा गरे पनि अन्य सामाजिक सञ्जालसम्बन्धी साइटहरूको प्रयोगबारे भने कमैमात्रै थाहा हुन आएको थियो ।

विभिन्न माध्यमहरूका लक्षित प्रयोगकर्तासम्म पुग्न रुसले डिजिटल बजारमा अपनाएको प्रविधिमा यूट्यूब, टम्ब्लर, पेपाल र गुगलप्लस सबै प्रभावित भएको उक्त रिपोर्टले जनाएको छ ।

उक्त अनुसन्धानले रुसको कम्पनी ईन्टरनेट रिसर्च ईन्स्टिट्यूट (आईआएए) ले नेतृत्व गरेको एउटा बृहद् प्रचारप्रसारबारे विस्तृतमा उल्लेख गरेको छ । आईआरएलाई अमेरिकाको गुप्तचर समुदायले रुस सरकारसँग निकट रहेको इन्टरनेटमा अन्धाधुन्ध रुपमा कसैको पक्ष वा विपक्षमा सन्देशहरू फैलाउने कम्पनीको रुपमा व्याख्या गरेको छ ।

उक्त रिपोर्टले चुनावी प्रक्रियाबारे गलत सूचना फैलाएर वाम झुकाव भएका अफ्रिकीअमेरिकी नागरिकहरूको मताधिकारको शक्तिलाई निरुत्साहित गर्ने प्रयास गरेको देखाएको छ ।

सिनेटले सोमवार नै सार्वजनिक गरेको अर्को अनुसन्धान कम्पनी न्यू नलेजले पनि अफ्रिकी अमेरिकीहरूलाई प्रभाव पार्न रुसले गरेको प्रयासबारे उल्लेख गरेको छ । बीबीसीबाट