विद्युत महशुल तिर्दैनन् अस्पताल र उद्योग

811
views

नवदृष्टि न्युज डेष्क
पर्वत, १६ पुस । अस्पताल लगायतका विभिन्न उद्योगले विजुली बत्ति प्रयोग गरेवापतको विद्युत महशुल नतिर्दा पर्वत स्थित नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको महसुल बक्यौता झण्डै १३ लाख पुगेको छ । केन्द्रले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्वतका विभिन्न निकायबाट असूल गर्नुपर्ने बत्तिको महशुल बक्यौता रकम १२ लाख ९१ हजार २ सय ६७ रुपैयाँ पुगेको हो ।

सबैभन्दा बढी महशुल पर्वत जिल्ला अस्पतालको बक्यौता रहेको छ । पर्वत जिल्ला अस्पतालको चारलाख ९९ हजार चारसय ४१ रुपैयाँ रहेको छ । त्यसैगरी, कालिगण्डकी क्रसर उद्योग सहस्रधाराको दुईलाख ७१ हजार एकसय १२ रुपैयाँ, युनाईटेड टेलिकम लिमिटेडको एकलाख ४४ हजार चारसय ७५ रुपैयाँ रहेको छ ।

यसैगरी विन्दवासिनी भेनियर उद्योगको ६० हजार ३९ रुपैयाँ र विश्वकर्मा फर्निचर उद्योगको बक्यौता रकम ८१ हजार नौ सय ४४ रहेको छ ।

नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रशासन प्रमुख मनोज बालाका अनुसार महशुल बक्यौता तिर्न बाँकी रहेका निकायलाई बारम्बार ताकेता गर्दापनि रकम भुक्तानी गर्न सकिएको छैन् । बक्यौता नतिर्ने निकायलाई पत्राचार गर्दा समेत वेवास्था गरेको बालाले बताए ।