सुदुर पश्चिम प्रदेशःक्रान्तिकारी पत्रकार महासंघले बुझायो ज्ञापनपत्र

838
views

धनगढी । क्रान्तिकारी पत्रकार महासंघ, सुदुरपश्चिम प्रदेश कमिटिले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत, नेकपा (क्रान्तिकारी माओवादी)का केस क्षितिज शर्मा, महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी समेतको उपस्थितिमा महासंघका प्रदेश संयोजक धनन्जय अवस्थीले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी संहिताका प्रावधानहरु हटाउन प्रदेशको तर्फबाट पहल गर्न, प्रेस विरोधी विद्युतीय कारोबार ऐन खारेज गर्न, प्रदेशभित्र सञ्चालित साना तथा स्वरोजगारमुखी मिडियाको संरक्षण सम्बद्र्धनका लागि विशेष योजना तर्जुमा गर्न, सरकारी सूचना मिडियालाई सहज रुपमा उपलब्ध गराउन, मिडियाहरुमाथिको दोहोरो तेहोरो कर खारेज गर्नलगायत बढ्दो सीमा अतिक्रमण र कालापानी क्षेत्र गायब पारिएको नेपालको नक्सा प्रयोगका विरुद्ध समेत ठोस कदम चाल्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति आफू प्रतिबद्ध रहेको भन्दै सीमा सम्बन्धी समस्या संघीय सरकारले समाधान गर्नुपर्ने धारणा राखे । उनले क्रान्तिकारी पत्रकार महासंघले उठाएका माग तथा सुझावहरु जायज र आवश्यक रहेको भन्दै प्रेसले आफूलाई निष्पक्ष र जवाफदेही बनाउनुपर्ने र प्रेस स्वतन्त्रा र पत्रकार स्वतन्त्राबीचको भेद पनि छुट्याउनुपर्ने विचार व्यक्त गरे । आफू मिडिया मैत्री भएको दावी गर्दै उनले साना लगानी तथा स्वरोजगारमुखी मिडियाहरुको संरक्षण र सम्बद्र्धनमा आफू गम्भीर रहेको पनि बताए ।

क्रान्तिकारी पत्रकार महासंघले १४ गते पौषमा एक भेला गरी सुदुरपश्चिम प्रदेश कमिटिको गठन गरेको थियो ।