सडक सरसफाईमा ट्राफिक, जथाभावी फोहोर गर्नेलाई कार्वाही

770
views

महेन्द्र जिसी
पर्वत,२५ पुस । सडकमा जथाभावी थुक्ने, फोहोर फाल्ने गरेको भेटीएमा पर्वत प्रहरीले कार्वाही गर्ने भएको छ । जिल्ला प्रहरी र पर्वत ट्राफिक प्रहरीले ‘क्लिन सडक’ अभियान सुरु गरेर सडकमा फोहोर फाल्ने तथा जथाभावी थुक्नेलाई कारबाही सुरु गरेको हो ।

सडकमा हुइँकिने सवारीसाधनका यात्री र पैदलयात्रीले जथाभावी फोहोर फाल्दा वातावरणस्य प्रदूषण बढेको र बजार क्षेत्रमा दुर्गन्ध फैलिंँदै गएपछि पर्वत प्रहरीले यस्तो अभियान सुरु गरेको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरीले पहिलो चरणमा कुश्मा नगरपालिकासँग मिलेर सफाइ अभियान सुरु गरिसकेको छ ।

पहिलो चरणमा कुश्मा नगरपालिका–७ अन्तर्गत पर्ने बान्द्रेबिंडीदेखि शिवालयचोक हुँदै दुर्लुङचोक र कुश्मा वाग्लुृङ राजमार्गसम्म निगरानी बढाइएको ट्राफिक प्रमुख रामकृष्ण गौलीले जानकारी दिए । ‘पहिलो चरणमा एउटा फोहोर फाल्नेलाई १० वटा टिप्न लगाएर कार्वाही थालनी गरको गौलिले बताए ।

यो सचेतनामूलक कारबाही रहेको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । प्रहरी साजेदारी कार्यक्रम अनुरुप राजमार्ग आसपासमा फोहोर व्यवस्थापनमा प्रहरी आँफै समेत जुटने गरेको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने पोखरा–बाग्लुङ सडकमा समेटिएका मोदी गाउँपालिका र कुश्मा नगरपालिकासँग मिलेर जरिवाना गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो ।

पहिलो चरण अन्त्रगर्त बुधबार मालढुंगा–बेनी सडकछेउमा यो अभियान सुरु गरिने ट्राफिकले जनाएको छ ।ट्राफिक प्रहरीलाई यो अभियान सुरु गर्न जिल्ला प्रहरी कार्यालयले अवधारणा दिएको हो । प्रहरी प्रमुख डीएसपी भुवनेश्वर तिवारीले प्रहरीको रचनात्मक कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको जानकारी दिए ।

केही रचनात्मक र सामाजिक सचेतनामूलक कार्यक्रम गर्ने योजना अनुरुप अगाढी बढेको डीएसपी तिवारीले बताए । जिल्ला बाहिरबाट आउने यात्रीलाई यो कुरा बुझाउन केही समस्या हुने प्रहरीले जनाएको छ । प्रहरीले सडकछेउका पसल र सार्वजनिक सवारीमा अनिवार्य डस्टबिन राख्न निर्देश गरिसकेको छ । सडकछेउका पसल, निजी घरधनी र सार्वजनिक सवारीधनीले डस्टबिन राख्न सुरु गरिसकेका छन ।