बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ७० को मृत्यु

748
views

ढाका, ९, फागुन । बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ ।

राति भएको भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरुलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ ।

ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोट भएको थियो । त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको थियो । राजधानी ढाकाको पुरानो वस्तीतिरको क्षेत्र भएकोले घरहरु जोडिएर रहेका र जसका कारण एकपछि अर्काे घरमा आगो फैलिएको थियो ।

यसरी फैलिएको आगोका कारण यहाँका कैयौँ घर शिकार भएका थिए । कैयौँ घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।

ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन् । उनका अनुसार एक घरमा सिलिण्डर पड्किएर भएको आगलागीले सो घरसँगै रहेको अर्काे घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थहरु राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको जानकारी दिए ।

आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ ओटा दमकल, ३७ ओटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा आएको थियो ।

हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सकने बताइएको छ ।