भारतलाई पाकिस्तानको चेतावनी

809
views

फागुन, १५, गते । पाकिस्तानको सेनाले अप्रत्याशित कारबाहीका निम्ति तयार रहन भारतलाई चेतावनी दिएको छ । भारतले आफ्नो भूभागमा हवाई कारबाही गरेको बदलास्वरूप आफूले रोजेको समय र स्थानमा प्रतिक्रिया जनाउने चेतावनी पाकिस्तानले दिएको छ ।

पाकिस्तानी सेना सिमानामा भारतीय सेनाको आवतजावत निरीक्षण गर्दै


सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले चकित पर्न तयार रहन भारतलाई सावधान गराए । भारतले उसका लडाकु विमानले जैश(ए(मोहम्मद सङ्गठनको आत्मघाती हमलाकारीहरूको प्रशिक्षण शिविर ध्वस्त पारिदिएको बताएको छ ।

पाकिस्तानले चाहिँ भारतीय विमानहरूलाई आफ्ना विमानले फर्कन बाध्य पारिदिएको र कुनै हताहती नभएको बताएको छ ।

युरोपेली युनियन र चीनले दुवै देशलाई संयम अपनाउन आग्रह गरेका छन् । खासगरि भारत प्रशासित कश्मीर तथा सीमामा रहेका भूभागमा अब के होला भन्ने त्रास र पाकिस्तानले अब के गर्ला? भन्ने चिन्ता व्याप्त छ ।“

इस्लामावादस्थित बीबीसीका सम्वाददाता एम इल्यास खानको विश्लेषण अनुसार पाकिस्तानी भूभागभित्र भारतीय हवाई सेनाले गरेको कारबाहीले तनावलाई खतरनाक स्तरमा उकासिदिएको छ ।

सन् २०१६ को सेप्टेम्बरमा उरीस्थित भारतीय सेनाको अखडामा भएको हमलापश्चात् ’सर्जिकल स्ट्राइक’ मार्फत प्रतिक्रिया जनाउने भारतको चेतावनीले पनि त्यस्तै अवस्था निम्त्याएको थियो ।

भारतले त्यतिखेर विशेष फौजलाई विद्रोहीका शिविरमा हवाईमार्गबाट ओरालेर कारबाही गरेको भन्ने दाबीलाई केही बढाइचढाइ प्रस्तुत गरिएको पाइयो ।

तर त्यतिखेर भारतीय फौजले नियन्त्रण रेखाभित्र केही ठाउँमा प्रवेश गरि केही हताहती गराएका थिए । यतिखेर चाहिँ उनीहरूले पाकिस्तानको अन्तराष्ट्रिय सीमा नै पार गरेर कैयौँ वर्षदेखि त्यहाँ रहेका भनिएका कश्मीरी विद्रोहीको शिविरमा हमला गरेका छन् । पाकिस्तानी सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ र स्थानीय प्रहरीलाई पनि त्यहाँ जान दिइएको छैन ।

साथै, पाकिस्तानी अधिकारीहरूले सो कारबाही नियन्त्रण रेखा पारि मात्रै भएको भन्दै स्थितिलाई सामान्यीकरण गर्न खोज्दैछन् । पाकिस्तानले प्रतिक्रिया जनाउने बाचा त गरेको छ तर त्यो कूटनीतिक उपायमै सीमित हुन सक्छ ।

तर केही विश्लेषकहरूले भनेजस्तै कश्मीरमा भारतीय फौजविरुद्ध विद्रोहीहरूले जवाफी हमला गर्न सक्छन् । बीबीसी ।