दुई कराँते महासंघ जुटेर एक भए

1155
views

काठमाडौं, १५, फागुन । पुरेन्द्रविक्रम लाखे नेतृत्वको नेपाल कराँते महासंघ र तत्कालीन राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव युवराज लामाको संरक्षकत्व तथा दावा गुरुङको अध्यक्षतामा दर्ता भएको नेपाल कराँते महासंघ एक हुने भएका छन् । दुईवटा महासंघ एक भएपछि नेपालमा अब एउटामात्र कराँते संघ हुने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिले अस्तित्वमा रहेका दुवै कराँते संघलाई नयाँ निर्वाचनमार्फत् विवाद समाधान गर्न सहमत गराएको हो ।

बुधबार तदर्थ कमिटी सार्वजनिक गरी त्यसलाई तीन महिनाभित्र निर्वाचन गराउने ‘म्यान्डेट’ मा सहमत भएका हुन् । सहमतिअनुसार शम्भु आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन भएको छ । समितिको सहसंयोजकमा दावा लामा, उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे र महासचिवमा हरिचरण केसी रहेका छन् ।

मन्त्रालयले विभिन्न संघहरुको विवाद समाधानका लागि गत मंसिर १७ गते राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।