चोरी भएका शालिकग्राम सहित ३ जना पक्राउ

1524
views

पर्वत । मोदीवेणी दिव्य धाममबाट चोरी भएका शालिकग्राम सहित तीनजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक गरेको छ । यही फागुन ५ गते कुश्मा नगरपालिका वडा नं–५ मोदिवेणी स्थित नृसिंह मन्दिरमा भएको चोरीको घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको कमाण्डमा खटिएको अनुसन्धान टोलीले पाmगुन २६ गते पर्वत जिल्लाका विभिन्न स्थानहरुवाट चोरी गरेको सामाग्री सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं-४ वस्ने २८ बर्षिय कसम पुन, वडा न ६ वस्ने २९ बर्षिय सुमन गुरुङ, वडा न.१० वस्ने ३२ वर्षियको लेख वहादुर नेपाली रहेका छन् ।

घटनामा संलग्न धादिङ जिल्ला साविकको निलकण्ठ गाविस वडा नं–१० स्थाई वतन भई हाल कुश्मा नगरपालिका वडा न ५ वस्ने २५ बर्षिय को अंजन वराईली फरार रहेको र उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुले मन्दिरमा रहेका करिव ३७ थान पुराना शालिकग्रामहरु, शंख तथा दान पेटिकामा रहेको रकम चारहजार रुपैयाँ चोरी गरेको प्रहरीको भनाइ छ ।

चोरी भएको सामान कुश्मा नगरपालिका वडा न.४ स्थित कालीगण्डकी छमर्के सामुदायिक वनको झाडीमा लुकाई राखेको अवस्थामा बरामद गरिएको थियो । उनीहरुलाई पर्वत जिल्ला अदालतवाट चोरी सम्वन्धी कसुर मुद्धामा थप अनुसन्धानको लागि ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले बताए ।