भूकम्पको चारबर्ष पुरा हुँदा रेडक्रसको पुनर्लाभ गतिविधि

456
views

काठमाडौं । २०७२ को भूकम्पको चारवर्षको सम्झनामा आज बैशाख १२ गते नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्यको प्रगति विवरण सार्वजनिक गरेको छ । रेडक्रसले भविश्यमा भूकम्प आउनु पूर्वतयारीको लागि सवैमा अनुरोध गरेको छ ।

नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले रेडक्रसको सहयोगमा प्रभावित क्षेत्रका ६ हजार १ सय ५३ जनाको निजी घर निर्माण सम्पन्न भएको, ७८ हजार ७ सय मानिसहरुलाई खानेपानी सहयोग गरिएको, एउटा अस्पताल र ३७ स्वास्थ्य चौकीको निर्माण वा मर्मतकार्य सम्पन्न गरिएको जानकारी दिए ।

रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित भुकम्पको सम्झना कार्यक्रममा फोटो एल्बम सार्वजनिक गर्दै नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले भने “२०७२ को भुकम्पपछि नेपालले व्यहोरेको ठूलो क्षति पश्चात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतबाट नेरेसोले गरेकोे भूकम्प प्रतिकार्यको ज्यादै सह्राना भएको छ । समुदायले पनि उत्तिकै अपनत्व लिएका छन् । हाम्रो काम राष्ट्रिय अन्तराष्ट्रियस्तरमा उदारहण नै बनेको छ ।”

प्रगति उत्साहजनकः
ठूला विपदहरु पश्चात विश्वका विभिन्न स्थानमा भएका प्रतिकार्यका कामहरु हुदै आएको सन्दर्भमा नेपालमा प्राप्त उपलव्धि उत्साहजनक भएको तथ्याँकहरुले प्रमाणित गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

सो अवसरमा पौडेलले प्रभावित क्षेत्रका ५ हजार ७ सय ३८ जनाको निजी घर निर्माण सम्पन्न भएको रेडक्रसले जिम्मा लिएको लक्ष्यको तुलनामा ८५ प्रतिशत प्रगति भएको छ । साथै ७ हजार ३ सय परिवारलाई घर बनाउन सहयोगार्थ दुई अर्व ३ करोड नगद सहयोग नै लाभग्राहीलाई प्रत्यक्ष उपलव्ध गरिएको जानकारी दिए । उनले रेडक्रसले आपत्कालीन आवास र मौसमी सहयोग स्वरुप लाभान्वितलाई नगद वितरण गरिएको समेत बताए ।

७८ हजार ७ सय २६ जना लाभान्वित हुने गरी २८० खानेपानी आयोजना सम्पन्न गरेको र २ हजार १५ वटा खानेपानीका धारा निर्माण भएको भन्दै ९ हजार ८२ घरमा शौचालय (९५ प्रतिशत) प्रगति भएको जानकारी दिइएको थियो । स्वास्थ्यतर्फ एक जिल्ला अस्पताल, २५ स्वास्थ्य चौकी निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको र १२ वटा स्वास्थ्य चौकी मर्मत गरिनुका साथै सफ्टवेयरतर्फ सवैकामहरु सम्पन्न भएको दिव्यराज पौडेलले बताए ।

कार्यक्रममा ३३ हजार ३ सय ६० परिवारलाई जीविकोपार्जनको लागि जम्मा ६१ करोड रुपैँया नगदै सहयोग गरिएको जनाइएको छ । यसैगरी १२ लक्ष्य मध्ये ११ वटा विद्यालय भवन निर्माणकार्य सम्पन्न गरी हस्तान्तरण गरिएको, २३ हजार ८ सय ६० परिवारले जीविकोपार्जन सीप हासिल गरेको र ती मध्ये ४ हजार २ सय २२ परिवारलाई पशु गोठ निर्माणमा रेडक्रसले सहयोग गरीएको छ । १८ हजार ८ सय ९६ पशुहरुको वीमा सहयोग र ८५ वटा साना सिँचाई कुलोहरु निर्माण गरिएको छ ।

समावेशिकरणको नमुना र भविश्यको लागि तयारीः

जुनसुकै समयमा विपद आउनसक्ने भएकाले संस्थागत क्षमता र चेतनाको लागि रेडक्रसले काम गरिरहेको छ । यसै अन्तरगत भुकम्पले विगारेका संरचना, रेडक्रसका भवनहरु, गोदाम घरहरु निर्माण गरिएका छन् । समुदायमा १ हजार ३ सय ९६ जनालाई समुदायमा आधारित विपद् व्यवस्थापन विषयमा उच्च स्तरीय प्रशिक्षण दिइएको छ । निशुल्क हटलाइन, रेडियो सन्देशमा निरन्तरता दिइएको छ ।

विद्यालयहरुमा ३१ वटा अपाङ्गमैत्री शौचालयको निर्माण एकवटा अपांगता भएका विद्यार्थीहरुको लागि होस्टल निर्माण गरिएको पनि सूचना अधिकृत दिव्यराज पौडेलले बताए ।

भूकम्प पश्चात विभिन्न क्षेत्रबाट प्राप्त ७ अर्व ३९ करोड रकम मध्ये करिव ७ अर्व १६ करोड खर्च भएको र त्यसको ठूलो हिस्सा लाभान्वितलाई नगदै वितरण र पूर्वाधार निर्माणमा गएको जनाइएको छ ।

उदयपुरमा उप–क्षेत्रीय गोदाम निर्माणः

भूकम्प वा अन्य विपद्को प्रतिकार्यको सिकाईकै आधारमा उदयपुरको कटारीमा १ करोड ८६ लाखको लागतमा उप क्षेत्रीय गोदाम निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त गोदामघरले सप्तरी देखि बारासम्मका समथर इलाका मात्र होइन, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरुमा समेत सेवा दिन सक्छ ।