नेपाल चीन सिमानाः तातोपानी नाकामा धमाधम काम

424
views

काठमाडौँ, १९, वैशाख । नेपाललाई चीनसित जोड्ने तातोपानी नाकामा नेपाल र चीन सिमानामा रहेको मैत्रीपुल र अरनिको राजमार्गको निर्माण कार्य तीव्र गतिमा अगाडी बढाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जेठको तेस्रो सातादेखि तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने सरकारको घोषणा पूरा गर्ने गरी भूकम्प र बाढीबाट क्षतिग्रस्तसडक र पुलको निर्माण कार्यलाई तीव्रता दिएको बताए ।

मैत्रीपुलको निर्माण कार्य अबको एक महिनाभित्र सम्पन्न गर्ने गरी काम गरिएको छ । सडक डिभिजन कार्यालय, चरिकोटका डिजिभन प्रमुख धर्मेन्द्र झाले सरकारको घोषणा अनुसार निधारित समयमा नै तातोपानी नाका पुनः सञ्चालनमा ल्याउनका लागि दिनरात काम भइरहेको बताए ।

अहिले खाँडीचोर–बाह्रबिसेदेखि चाइनिज क्याम्प खण्ड (१५ किलोमिटर) मा कालोपत्रे तथा विभिन्न स्थानमा नदी कटान रोकथाम, पहिरो नियन्त्रण तथा सडक पूर्नस्थापनाको काम भइरहेको छ ।

त्यसैगरी, चिनियाँ पक्षबाट अहिले बनदेउ–बाह्रबिसे खण्ड र बाह्रबिसे–कोदारी खण्डमा नदी कटान रोकथाम, पहिरो नियन्त्रण तथा सडक पुनस्र्थापनाको कार्य भइरहेको जनाइएको छ । कोठे पहिरो खण्डमा नदी कटान रोकथामको लागि प्लम कंक्रिटसहित पर्खालको कार्य भइरहेको, जुरे पहिरो खण्डमा पहिरो रोकथामको लागि पर्खाल तथा नदी कटान रोक्न प्लम कंक्रिटको कार्य भइरहेको छ ।

त्यस्तै महाभीर सडक खण्डमा टेवा पर्खालको कार्य, बाह्रबिसे हेल्थ पोस्ट सडक खण्डमा नदी कटानले क्षति पुगेको स्थानको पुनस्र्थापनाको कार्य भइरहेको छ ।

त्यस्तै, बसेरी नदी कटानले क्षति पुगेको सडकको पुनस्र्थापनाको कार्य भइरहेको, बाह्रबिसे–जम्बु सडक खण्डमा कालोपत्रे सडक पुनस्र्थापनाको कार्य, दोलालघाट—बलेफी सडक खण्डको ‘रिकुरेन्ट’ मर्मतको कार्य भइरहको, लामोसाँघु–बाह्रबिसे सडक खण्डको ‘पिरियोडिक’ मर्मतको कार्य र बनदेउ–बाह्रबिसे सडक खण्डको विभिन्न स्थानमा नाली तथा जीर्ण संरचनाको पुनर्निर्माण कार्य भइरहेको छ ।

सिन्धुपाल्चोकको लार्चामा निर्माणाधिन सुख्खा बन्दरगाह अबको एक महिनापछि चीन सरकारले नेपाललाई हस्तान्तरण गर्ने तयारी भैरहेको छ ।

चीन सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन सो बन्दरगाहको लगभग सबै निर्माण कार्य सम्पन्न भइसकेको छ । अरनिको राजमार्गमा पर्ने बाह्रबिसे नगरपालिकाको खुर्सानीबारीस्थित साँदी खोलामा ‘बेलिब्रिज’ निर्माण हुने भएको छ । अबको एक साताभित्र ‘बेलिब्रिज’ निर्माण कार्य शुरु हुँदै छ ।