थाई राजाले गरे आफ्नै अङ्गरक्षकसँग विवाह

793
views

थाईल्यान्डका राजा महा वजिरालङ्कर्नले आफ्नी अङ्गरक्षकसँग बिहे गरेर उनलाई महारानीको उपाधि प्रदान गरेका छन् । उक्त अप्रत्याशित घोषणा शनिवार सुरु हुन लागेको उनको औपचारिक राज्याभिषेक समारोहको केही दिन अगाडि भएको छ ।

छैसट्ठी वर्षीय राजा महा वजिरालङ्कर्न सन् २०१६ मा उनका पिताको निधनपश्चात् थाईल्यान्डका राजा बनेका हुन् । यसअघि उनको तीन पटक विवाह र सम्बन्धविच्छेद भएको थियो । वजिरालङ्कर्नका सात छोराछोरी छन् ।

थाईल्यान्डमा जारी गरिएको शाही विज्ञप्तिमा राजा बजिरालङ्कर्नद्वारा जनरल सुथिदा बजिरालङ्कर्नलाई महारानी सुथिदामा पदोन्नति गर्ने निर्णय गरिएको जनाइएको छ । रानी सुथिदा लामो समयदेखि राजा बजिरालङ्कर्नको साथ छिन् र कैयौँ वर्षदेखि उनलाई राजासँगै सार्वजनिक स्थलमा देखिएको थियो ।

तर दुई जनाबीचको सम्बन्धलाई यसअघि आधिकारिक रूपमा स्वीकारिएको थिएन । थाई टेलिभिजन च्यानलहरूमा बुधवार प्रसारित वैवाहिक समारोहको दृश्यमा राजपरिवारका अन्य सदस्य एवम् दरबारका भारदार उपस्थित देखिन्छ ।

राजाले रानी सुथिदाको शिरमा पवित्र जल छर्किएको देखिन्छ । त्यसपछि राजदम्पतिले विवाह रजिस्टरमा हस्ताक्षर गरेको देखिन्छ ।

सन् २०१४ मा बजिरालङ्कर्नले थाई एअरवेजकी भूतपूर्व परिचारिका सुथिदालाई आफ्नो अङ्गरक्षक दलको उपकमान्डर नियुक्त गरेका थिए । सन् २०१६ को डिसेम्बरमा उनलाई जनरलमा बढुवा गरियो । यसअघि बजिरालङ्कर्नका बुवा राजा पूमिपोन अदुन्यादेतले ७० वर्षसम्म शासन गरेका थिए । सन् २०१६ मा निधन हुँदा उनी विश्वमै सबभन्दा लामो समय शासन गर्ने राजा थिए । बीबीसी