आफन्त समेटिए तीनदिने गाईभैंसी तालिममा

631
views

पर्वत । कुश्मा नगरपालिका स्तरिय तीनदिने गाईभैंसी तालिममा आफन्त परेपछि व्यावसायिक कृषकहरुले गुनासो गरेका छन् । नगर पशु सेवा शाखाले सञ्चालन गरेको तीनदिने तालिममा प्राविधिकहरुकै परिवार सदस्य परेको तर, गाईभैंसी पाल्न ईच्छुक र पाँच छ वटाभन्दा बढी गाईवस्तु पालेका कृषकहरु छुटेपछि गुनासो गरेका हुन् ।

नगर पशु सेवा शाखाले बैशाख २२ गते देखि २४ गतेसम्म कुश्मा नगरपालिकाका १४ वटा वडाबाट प्रत्येक वडाका दुई/दुई जना किसानलाई सहभागी गराएर तालिम सञ्चालन गरेको थियो ।

दुईदर्जन किसानहरु सहभागिता रहेको तालिमका लागि गाईभैंसी पालक किसान छनौट गर्न वडा कार्यालयलाई जिम्मा दिइएको नगर पशु विकास अधिकृत राम्जी पौडेलले बताए ।

यता पशुपालन व्यवसाय गरेका कृषकहरुका लागि महत्वपूर्ण रहेको सो तालिममा आफुहरुले कुनै थाहा नै नपाएको किसानहरुले बताएका छन् ।

नगरपालिकामा जस्तोसुकै कार्यक्रम वा तालिम भएपनि वास्तविक किसानहरुलाई सोधपुछनी नगर्ने गरेको कुश्मा नगरपालिका वडा नं ७, ओडारे कृषि फार्मका सञ्चालक गौरव क्षेत्रीले बताए ।