सागका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

485
views

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

नेपालमा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको हो । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिनेछ ।

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा संयोजक रहेकोे प्रतियोगिता तयारी तथा व्यवस्थापन मूल समारोह समितिको बैठकले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

सागमा नेपालबाट ६२५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ । तेह्रौँ साग नेपालले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना गर्नेछ ।