गणतन्त्र दिवसः अन्यायका विरुद्ध न्यायको जित–प्रधानमन्त्री

858
views

काठमाडौं, १५, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस ‘बलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीतको दिन भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

गणतन्त्र आएको दिनलाई नेपाली जनताले विसं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले ११ बर्ष अघि आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले हरेक वर्ष गणतन्त्र दिवसलाई एउटा प्रगतिशील परम्पराको शुरुवात भएको दिनको रुपमा स्मरण गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेको उल्लेख गर्दै जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताए । समाजलाई समृद्ध बनाउनका लागि सुशासन र विकासलाई प्राथमिकतामा राखनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।