मिथिलाञ्चल क्षेत्रमा ‘वटसावित्री’ पर्व मनाईदै

1214
views

महेश सिंह महतो
सिरहा २० जेष्ठ । सिरहाको लहान लगायतका तराई मधेशको मिथिलाञ्चल क्षेत्रमा पतिको दीर्घ आयुको कामना गर्दै वटसावित्री पर्व सोमबार बिहा नै देखी मनाइँदै छ । परापूर्वकालदेखि जेठ औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।

पर्व मनाउनका लागि बिहानैदेखि विभिन्न बरका रुखमुनि घुइँचो लागेको देखिन्छ । सिरहाको लहान, गोलबजार, मिर्चैया, चोहर्वा, सप्तरीको राजबिराज, धनुषाको जनकपुर, लहानको राममन्दिर, ग्रामीण, सडक विभाग हस्पिटल चोक लगायतको स्थानमा रहेका वर पीपलको रुखमुनि महिलाहरु पूजापाठ गर्दैछन ।

पर्वमा बाँसबाट बनाइएका नयाँ पङ्खा, धागो, मिठाई, फलफूल, चनालगायतका सामग्रीका साथ पूजा गरिन्छ ।धार्मिकग्रन्थ स्कन्दपुराणमा उल्लेख गरिएअनुसार बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले बरको रुखमुनि बसेर पूजा गर्दा त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ । यो पर्व मनाउनका लागि महिलाहरु बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् ।

अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनिनै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावले यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्ष अर्थात बरको रुखमुनि नै बसेर यो पर्व मनाउने गरिन्छ । गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिनी देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ । यो पर्व मनाउनका लागि बेहुलीका लागि घरबाट नयाँ बस्त्र, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिनी, बाँसको पङ्खा, टोकरीलगायतका साथै भोजनका लागि चामल, च्यूरा, दहीलगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ ।