खराब मौसमका कारण रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाः प्रतिवेदन

478
views

काठमाडौं, १२, असार । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनाको मुख्य कारण ‘खराब मौसम’ रहेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ ।

आयोगका संयोजक यज्ञप्रसाद गौतमले बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा हेलिकप्टर दुर्घटनाको मुख्य कारण एकाएक बिग्रिएको मौसम नै भएको उल्लेख गरिएको छ ।

दुर्घटना हुनुमा प्राविधिकतर्फ भने कुनै कारण फेला नपरेको बताइएको छ । आयोगले प्राविधिक तथा व्यवस्थापन पक्षका पदाधिकारी र प्रत्यक्षदर्शीसँगको छलफल, दुर्घटनास्थलको अध्ययन, मौसम र चालकको अवस्था विश्लेषण गरेर प्रतिवेदन तयार पारेको जनाएको छ ।

पर्यटनमन्त्री अधिकारीसहित सात जना सवार एयर डाइनेस्टीको हेलिकोप्टर गत फागुन १५ गते ताप्लेजुङको फुङलिङस्थित सिस्नेभिरमा दुर्घटनामा परेको थियो ।