नेता अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली

1388
views

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का दिवंगत नेता श्रीनाथ अधिकारी ‘श्याम’ प्रति अन्तिम श्रद्धाञ्जली दिइएको छ । अधिकारीको पार्थिव शरिर पार्टी कार्यालय कुपण्डोलमा राखिएको थियो ।

विहान १० बजेबाट सुरु भएको श्रद्धाञ्जली कार्यक्रममा नेता अधिकारीको पार्थिव शरीरमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले पार्टीको झण्डा ओढाई अविर, फूल माला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पार्टीका स्थायी समिति सदस्य तथा देजमोका अध्यक्ष सीपी गजुरेलले सञ्चालन गरेको श्रद्धाञ्जली कार्यक्रममा पार्टीका पिविएम चन्द्रहरि सुवेदी अटलले नेता अधिकारीले कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनमा पु¥याउनु भएको योगदानको विषयमा चर्चा गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठ, क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्यहरु हरिभक्त कँडेल, रामसिंह श्रीस, परि थापा, नेकपाका अध्यक्ष ऋषि कट्टेल, मालेका महासचिव सिपी मैनाली लगायतका नेताहरुले अवीर र माल्यार्पण गरी नेता अधिकारीमाथि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नेता अधिकारीप्रति श्रद्धाञ्जलीका लागि क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुलगायत विभिन्न कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नेता अधिकारीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने क्रान्तिकारी माओवादीले जनाएको छ ।