चन्दा माग्ने र दिने दुवैलाई कार्वाही–डिआईजी जोशी

910
views

जाजरकोट, २५, असार । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पुर्णचन्द्र जोशीले जाजरकोटको शान्ति सुरक्षाका लागि कठोर बन्न निर्देशन दिएका छन् ।

कर्णाली प्रदेशमा नेत्र विक्रम चन्द ‘विप्लव’ समुहका गतिविधी बढ्दै गएको भन्दै जोशीले सुरक्षा चुनौतिका निमित्त जनता र सुरक्षाकर्मी एकसाथ काम गर्नुपर्ने बताए ।

केही दिनअघि कर्णाली प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिन जाजरकोट आएका जोशीले चन्दा दिने र माग्ने दुवैलाई कारवाही गरिने पनि चेतावनी दिए ।

कम्जोर मानसिकताका कारण चन्दा आतङक बढेको छ जोहीले भने ‘त्यो निस्तेज पार्नका लागि प्रतिवादको विकल्प छैन्, म आग्रह गर्दछु चन्दा माग्नेलाई नदिनुहोस् ।’

उनले कर्णालीमा मदिराजन्य पदार्थ सेवन गर्नेहरु बढी भएको पाईएको भन्दै न्यूनिकरणका लागि अभियान जारी रहेको जानकारी दिए । उनले सार्वजानिक ठाउँ, कार्यालयमा सिसिटिभी जडान गर्न आग्रह समेत गरे ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्नो ठाउँमा भए, गरेका घटना र सुरक्षा चुनौतीका विषयमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

जिल्लामा प्रहरीको दरवन्दी कम भएका कारण समस्या भएको भन्दै तत्काल सम्वोधन हुनुपर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्दबहादुर शाहको भनाई थियो ।

प्रहरी चौकी स्थापना नभएका र हुँन बाँकी रहेका ठाउँमा छिटो प्रहरी चौकी स्थापनाका लागि पहल थाल्न जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यले माग गरे ।

जिल्लाका मुख्य नाँकामा प्रहरीको निगरानी बढाउनुपर्ने उद्योग वाणिज्य सँघका अध्यक्ष कर्णबहादुर खत्रीले माग गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा अधिकारीहरु, जनप्रतिनिधी, पत्रकार र नागरिक अगुवाहरुको सहभागिता थियो ।