बाढी र पहिरोमा १९ जनाको मृत्यु, ८ बेपत्ता

597
views

काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । देशैभरको जनजीवन प्रभावित बनेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाको मृत्यु भएको हो । क्षतिको विवरण देशैभरबाट आउन बाँकी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३÷३ जनाले ज्यान गुमाएका छन् । ७ जना घाइते छन् भने ४ जनाको उद्दार समेत गरिएको छ । बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुष्का घाइते छन् ।

रामेछापमा पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते भएको बताइएको छ । भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई रहेका छन् । टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु हुन पुगेको छ । ललितपुरमा अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ । खोटाङमा ३ जना बेपत्ता भएको जनाइएको छ ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको थियो । उत्तरी मकवानपुरको थाहा नगरपालिका– ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी सञ्चना बलामीको मृत्यु भएको छ ।

काठमाडौंको मूलपानीमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई कागेश्वर मनहरा नगरपालिका, मूलपानी बस्दै आएका नितु यादव, शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् । ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । पञ्चलाल जिम्माका घर पहिरोमा पुरिँदा घरभित्र रहेका दुई छोरामध्ये ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको हो ।