कतारसँग नेपाल ४ विकेटले पराजित

818
views

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो । १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लेग स्पीनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा ३३ रन दिएर ३ विकेट लिए पनि त्यसले हार टार्न सकेन । करण केसीले १ विकेट लिए ।

कतारका लागि इमाम उलहकले सवर्वाधिक ४१ रन बनाए । कामरन खानले २२ र नौमन सरवारले १५ रन बनाए ।
व्याटिङमा निरीह

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । ३५ बलको सामना गरेका ऐरीले १ चौका र १ छक्का प्रहार गरे । पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । ओपनिङ जोडीका रुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट सुरुवात गरेका थिए ।

तेस्रो नम्बरमा आएका शरद भेषवाकरले १३ बलमा ७ रन बनाए । सोमपल कामीले १२ बलमा ११ रन बनाउँदा ७ बल खेलेका विनोद भण्डारी ३ रन बनाएर आउट भए । करण केसीले ४ बलमा ४ रन बनाउन सके ।

आठौं नम्बरमा क्रिजमा आएका सन्दीप लामिछानेले ५ बलमा ९ रन बनाए ।

अन्तिम ओभरमा मात्रै नेपालले लगातार ३ विकेट गुमायो । इकवबाल हसनले लगातार तीन विकेट लिएका थिए । उनीबाहेक नौमन सरवार र तमुर साहजादले नेपालको २–२ विकेट लिए ।