आज ४१ औं पुष्पलाल स्मृति दिवस

2575
views

पर्वत, ७, साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार, सिद्धान्त र नीतिहरू आजमपनि सान्र्दभिक र मार्गदर्शक बनेका छन् । दूरदर्शी नेता पुष्पलालकै नीति र विचार र सिद्धान्तकै आधारमा मुलुकको राजनीतिक परिवर्तन भएको छ ।

नेपाली क्रान्ति, वर्गीय मुक्ति र कृषि क्रान्तिको मौलिक आन्दोलनको खोजीमा पुष्पलालको योगदान छ । दिल्ली सम्झौताको विरोधकै क्रममा २००८ सालमा नेकपा प्रतिबन्धित भएपछि पुष्पलाल भूमिगत भएका थिए ।

राणाशाही हटेपनि मुलुकको राज्य प्रशासनयन्त्र राणाकै हातमा थियो । जनता अधिकारविहीन थिए । दरबारले पनि दलहरूलाई खेलाएर सत्ताको साँचो आफ्नो हातमा पार्ने दाउमा थियो । मुलुकको यो परिस्थितिलाई सही दिशामा ल्याउन मोर्चाको अवधारणा पुष्पलालले ल्याएर संघर्षलाई अगाडि बढाएका थिए ।

भारत निर्वासनमा रहेका पुष्पलाल २००९ सालमा भूमिगत रूपमा नै नेपाल आएर नेपाल कम्युनिस्ट पार्टी, नेपाल प्रजापरिषद् र राष्ट्रिय काँग्रेससहित जातीय (राष्ट्रिय) जनतान्त्रिक संयुक्त मोर्चा गठन गर्न सफल भए । टङ्कप्रसाद आचार्य संयोजक र पुष्पलाल सचिव रहेको मोर्चाले संयुक्त सरकार, संविधानसभा, समानुपातिक निर्वाचन प्रणाली, समावेशी सहभागिता, जनजीविका, राष्ट्रियता र राजनीतिक हकअधिकारका लागि संघर्ष अगाडि बढाएको थियो ।

बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्त गरी २०१७ साल पुस १ मा दलहरूमाथि प्रतिबन्ध लगाएपछि रुसमा रहेका नेकपाका तत्कालीन महासचिव डा. केशरजङ्ग रायमाझीले समर्थन गरे । त्यसको कटु आलोचना गर्दै संसद् पुनस्र्थापनाको मागलाई पुष्पलालले जोडदार रूपमा उठाएका थिए ।

विघटित संसदको पुनस्र्थापनाका लागि काँग्रेससँग मिलेर संघर्ष अगाडि बढाउनुपर्छ भन्ने मान्यता पुष्पलालको रहेको थियो । पञ्चायत व्यवस्था विरुद्ध काँग्रेससहित लोकतान्त्रिक शक्ति मिलेर संयुक्त जनआन्दोलन अगाडि बढाउनुपर्ने पुष्पलालको मान्यताले ४६ सालमा आएर पूर्णता पाएको थियो ।

भारतमा निर्वासित रहेर नेपाली कम्युनिस्ट आन्दोलनको रक्षाका लागि पुष्पलालले गरेको सङ्घर्षले नेपाली कम्युनिष्ट आन्दोलन अहिले पनि अग्र गतिमै रहेको छ ।

सामन्तवादको अन्त्य र गणतन्त्र प्राप्तिका लागि पुँजीवादी दललाई पनि सँगै लैजानुपर्छ भन्ने पुष्पलालको वैचारिक जगमै वाम एकता र सङ्घर्ष भएको थियो । नेपाली किसानको समस्या समाधान नगरी र जल, जमिन र जङ्गल किसानको स्वामित्वमा नलगेसम्म मुलुकमा वास्तविक लोकतन्त्र आउँदैन भन्ने पुष्पलालको धारणा अहिले पनि नेपालका कम्युनिष्टहरुले सम्झिन्छन् ।