‘बाँझो रह्यो खेत’

रोपेको खेतमा धाँजा फाट्यो, रोप्नुपर्ने खेतमा पानीको सकस

1711
views

महेन्द्र जिसी
पर्वत, १२, साउन । पानी नआएका कारण पर्वतका धानयोग्य फाँटहरु साउनमा पनि बाँझै रहेका छन् । गतवर्षमा साउनको दोस्रो साता रोपाई सकिने गरेको किसानहरुको भनाई छ ।

यस बर्ष ३० प्रतिशत भन्दा बढी खेत रोप्न नसकिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । पर्वत जिल्लामा ९ हजार २१ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । मनसुन सुरु भएपछि पनि तुलनात्मक रुपमा कम बर्षा भएका कारण बाहैमास सिंचाई हुने खेतमा समेत रोपाई भएको छैन ।

जिल्लामा बढी धान फल्ने खेत बाँझै रहेपछि किसानहरु चिन्तत बनेका छन् । पर्वतका खुर्कोट, फलेवास, ज्ञादी, रानीपानी, कटुवाचौपारी, मुडिकुवा, कमलेबजार, राहाले, खानीगाउँ, देविस्थान, कुर्घालगायतका फाँटका किसानले रोपाइँ गर्न नपाएका बताए ।

मुख्य धान फल्ने फाँटमा साउनको दोस्रो साता सम्म पनि रोपाइँ हुन नसक्दा चालु वर्ष धान उत्पादन घट्ने संकेत देखिएको छ । यस बर्ष पर्याप्त मनसुन नभएका कारण खोलाखेत बाहेक मुख्य फाँटमा पनि रोपाईँ हुन नसकेको कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

२४ हजार हेक्टर जमिनमा खेती हुँदै आएको र जिल्लामा बाह्रै महिना सिँचाई हुने ६ हजार चारसय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । गएको वर्ष निर्माण कै चारणमा पहिरोले कुस्माको ज्ञादी सिँचाइ आयोजनाको नहर बगाएपछि यस क्षेत्रको रोपाई सकसपूर्ण भएको स्थानीय कृषक कृष्ण पराजुलीले बताउनु भयो ।

मर्मत नहुँदा कुस्मा–९ कटुवाचौपारीको करिव ३ सय हेक्टरमा रोपाइँ सुरु नै भएको छैन । यस्तै फलेवास क्षेत्रको ४ सय, जलजला–८ को लस्ती, बिहादी गाउँपालिकाको बर्राचौरमा करिब एकसय हेक्टरमा रोपाइँ हुन सकेको छैन ।

सवैभन्दा बढी धान उत्पादन हुने फलेवास नगरपालिकाको देविस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल रहेको छ । यहाँका कृषकहरु भर्खरै मात्रै धान रोप्ने सुरसारमा छन् ।

सबैभन्दा कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, एक्ले, बिरमफुले, मार्सी, पहेंले, जर्नेली लगायत स्थानिय जात तथा खुमल ४, मनसुली लगायतका उन्नत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

पानी नपरेको कारण सबै खेतमा रोपाई नहुँने र ढिलो रोपाईँ गर्दा उत्पादन समेत घट्ने भएकाले १० प्रतिशत भन्दा बढी उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख रेग्मीले बताउनुभयो ।