फोहोर व्यवस्थापनका नाउँमा चर्को शुल्क नलेउः–औषधी व्यवसायि

2489
views

पर्वत । कुश्मा नगरपालिकामा रहेका औषधी व्यवसायिहरुले फोहोर व्यवस्थापनमा चर्को शुल्क लिएको भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

नगरपालिकाले उठाएको करले व्यवसायिहरु आहात भईरहेका बेला फेरी फोहोर व्यवस्थापनका नाउँमा लगाइएको चर्को शुल्कले व्यवसायिहरुको ढाड सेकेको भन्दै फोहोर व्यवस्थापनका नाउँमा चर्को शुल्क नलिन औषधी व्यवसायिहरुले नगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नगरपालिकामा सेवा दिदैं आएका औषधी व्यवसायिहरुले विभिन्न ठाउँमा लाग्ने करको विभिन्न शिर्षकहरुले व्यवसायीहरु आहात भैरहेको भन्दै विरोध जनाएका छन् । व्यवसायिहरुले नगरकार्यपालिकाको निर्णयको नाममा फोहर मैला व्यवस्थापन सेवा शुल्क, दररेटमा लगाइएको चर्को शुल्कप्रति गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

औषधी व्यवासायीहरुले आफ्नो नियमनकारी निकाय औषधी व्यवस्था विभागमा मात्र नभई वाणिज्य कार्यालय र नगरपालिका कार्यालय गरी तीन ठाउँमा दर्ता हुनुपर्ने र यसरी दर्ता हुँदा र नविकरण गर्दा प्रत्येक ठाउँमा राजश्व बुझाउन वाध्य हुनुपर्ने व्यवस्था कायमै रहेको सुझाउँदै त्यसमाथि आन्तरिक राजश्व कार्यालयमा बुझाउने आयकरको प्रसंग समेत उजागार गरेका छन् ।

व्यवसायिहरुले नगरपालिकालाई बुझाउने व्यवसाय कर मात्र नभई सम्पत्ति कर समेत गर्दा पाँच प्रकारका करले औषधी व्यवसायीहरु थला परेको अवस्थामा नगरपालिकाले लिने व्यवसाय कर र सम्पत्ति कर भन्दा पनि बढी बार्षिक ६३ सय रुपैयाँ र मासिक रुपमा पर्न आउने पाँचसय २५ रुपैयाँ फोहोर मैला व्यवस्थापन शुल्कले झनै आहात बनाएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । छिमेकी जिल्लाका नगरपालिकाले फोहोर मैला व्यवस्थापन शुल्क बढीमा मासिक एकसय ५० मात्र कायम गरेकोमा कुश्मा नगरपालिकाले फोहोर मैला व्यवस्थापनको नाममा औषधी व्यवसायीमाथि लादिएको चर्को शुल्क औषधी व्यवसायीहरुका लागि न्यायोचित नभएकोले फोहोर मैला व्यवस्थापन शुल्कमा यथोचित समायोजन गर्न ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

आईतवार औषधी व्यवसायिहरुको सहभागितामा नगरप्रमुख रामचन्द्र जोशीलाई ज्ञापनपत्र बुझाई प्रमुख प्रशासकीय अधिकृतको समेत ध्यानाकर्षण गराएका छन् ।