पुडासैनी आत्महत्या प्रकरणः युवराज कँडेलको बयान सुरु, रविको बयान आजै हुने

501
views

चितवन, ९, भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले हिजो आईतवारदेखि बयान लिन शुरु गरेको छ । अदालतले पक्राउ परेका पत्रकार युवराज कँडेलको बयान लिन सुरु गरेको छ । चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार सोमबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो । कँडेलको बयान सकिएपछि रवि लामिछानेको बयान सुरु हुनेछ ।

अदालतले आइतबार रुकु कार्कीको बयान लिएको थियो । बयानका क्रममा रुकु भनिने अस्मिता कार्कीले पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै आफूमाथि लागेको आरोपबाट सफाइ पाउनुपर्ने माग गरेकी छिन् ।

साउन २० गते राति नारायणगढको कंगारु होटलमा मृत अवस्थामा फेला परेका शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अस्मिता कार्की, टिभि प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु साउन ३० गते राजधानीबाट पक्राउ परेका थिए ।

अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र रुकुविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो । अदालतको आदेश नआएसम्म तीनैजनालाई न्यायिक हिरासतमा राखिने छ ।