जिल्ला अभियानमा क्रान्तिकारी माओवादी

939
views

काठमाडौं, १६ भदौ । नेकपा (क्रान्तिकारी माओवादी) ले सातवटै प्रदेशका अधिकांश जिल्लाहरुमा अभियान सञ्चालन गरेको छ । असारको १२ देखि १७ मा सम्पन्न सो पार्टीको केन्द्रीय समितिले गरेका निर्णयहरु कार्यान्वयनको क्रममा जिल्लाहरुमा अभियान सञ्चालन भइरहेको माओवादी नेताहरुले बताएका छन् ।

पार्टी, देजमो, जबस–मोर्चाहरुका संगठन विस्तार तथा सुदृढीकरण गर्दै जनसंघर्ष, वर्गसंघर्ष तथा प्रतिरोध संघर्ष उठानको आधार निर्माण गर्ने उद्देश्यलाई केन्द्रमा राखेर जिल्लाहरुको सापेक्षतामा १५ दिनदेखि पाँच हप्तासम्मका अभियानहरु सञ्चालन भइरहेका छन् ।

प्राप्त समाचार अनुसार ३ नं. प्रदेशको काठमाडौंमा २९ साउनबाट पाँच हप्ते ‘काठमाडौं मार्च अभियान’ सञ्चालन गरिरहेको छ भने यसै अभियान अन्तर्गत काठमाडौंको जोरपाटी, बसुन्धरा र असनमा सन्देश सभा सम्पन्न गरेको छ । यी तीनवटै सन्देशसभालाई प्रमुख वक्ताको रुपमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले सम्बोधन गरेका छन् ।

त्यसैगरी ललितपुर, भक्तपुर, चितवन, काभ्रे लगायतका जिल्लाहरुमा पनि एक महिने अभियान सञ्चालन भइरहेको छ । पीविएम प्रभाकिरणका अनुसार यस प्रदेशको रसुवा र धादिङमा बाहेक अन्य सबै जिल्लाहरुमा अभियान सञ्चालन भइरहेको छ । मकवानपुरमा भने १६ भदौंबाट सुरु हुने जनाइएको छ ।

उता पार्टीको १ नं. प्रदेशका इन्चार्ज तथा पार्टी पीवीएम मिनकुमारले दिएको जानकारी अनुसार प्रदेशका उदयपुर, सुनसरी, झापा, ओखलडुंगा, खोटाङ लगायतका जिल्लाहरुमा २१ भदौंबाट १५ दिने अभियान सुरु हुँदैछ । यस बीचमा प्रदेशमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रदेश सम्मेलन सम्पन्न भएको छ भने शनिबार किसान महासंघ (क्रान्तिकारी)को प्रदेश कमिटि निर्माण गरिएको छ । अन्य जिल्लाहरुका पनि बैठक बस्ने र अभियान सञ्चालनका योजनाहरु बनाउने कामलाई गति दिइएको छ ।

दुई नम्बर प्रदेशका इन्चार्ज तथा पार्टी पीवीएम रमेशले दिएको जानकारी अनुसार भदौं १८ देखि २२ सम्म सिरहाको गोलबजारमा प्रदेश स्तरीय वैचारिक राजनीतिक प्रशिक्षणको आयोजना गरिएको छ । महोत्तरीको भने आइतबारबाट १५ दिने अभियान सुरु गरिएको छ । अन्य जिल्लाहरुको भने प्रशिक्षण सकिएलगत्तै अभियानहरु सञ्चालन गरिने इन्चार्ज रमेशले बताए ।

यता ४ नं. प्रदेशका इन्चार्ज तथा पार्टी पीवीएम अटलले दिएको जानकारी अनुसार प्रदेशका सबै जिल्लाहरुको बैठक सम्पन्न भएका छन् र १५ दिने अभियान सञ्चालन गर्ने निर्णयहरु लिइएका छन् । व्यवस्थित रुपमा नवलपुर जिल्लाले अभियान सञ्चालन गरिरहेको छ । अभियानको क्रममा २१ सदस्यीय दुईवटा देजमो र १३ सदस्यीय क्रान्तिकारी युवा लिगको कमिटि गठन गरिएको छ । अन्य जिल्लाहरुमा पनि अभियान सञ्चालनको तयारी भइरहेको छ ।

उता ५ नं. प्रदेशका इन्चार्ज तथा पार्टी पीवीएम प्रमोदका अनुसार प्रदेशभित्रका सबै जिल्लाहरुका बैठक र कतिपय जिल्लाहरुको प्रशिक्षण समेत सम्पन्न भएका छन् । बाँके, बर्दिया, दाङलगायतका जिल्लामा वैचारिक राजनीतिक प्रशिक्षण सम्पन्न भएका छन् भने बुटवल र बाँकेमा विषादीयुक्त तरकारीको विषयमा देजमोको आयोजनामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएका छन् । सबै जिल्लामा आ–आफ्नो सापेक्षतामा अभियान चलिरहेका छन् ।

कर्णाली प्रदेशका इन्चार्ज तथा पीवीएम सीपीका अनुसार क्रान्तिकारी माओवादीको कर्णाली प्रदेश अन्तर्गतका जिल्ला पार्टीका बैठकहरु सम्पन्न भएका छन् । जसअन्तर्गत २०७६ साउन १८ गते सूर्खेत, साउन ३२ गते सल्यान–रुकुम, भाद्र ७ गते दैलेख जिल्ला पार्टीका बैठकहरु भएका छन् । सबै जिल्लाहरुले २०७६ को आगामी भाद्र मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरि सक्ने, जवस÷मोर्चाहरुको १५ दिने साधारण सदस्यता वितरण अभियान चलाउने, पार्टी, जबसका भेला, बैठक, गठन, पुनर्गठनलगायतका काम गर्ने, स्थानीय स्तरका संघर्षका कार्यक्रम उठाउने, आगामी असोज १ देखि बर्गदृष्टिका ग्राहक तथा विज्ञापन केन्द्रित अभियान सञ्चालन गर्ने लगायतका निर्णय भएको इन्चार्ज सिपीले बताए ।

उनका अनुसार सल्यान र रुकुम जिल्लामा कमरेड परिवर्तनको नेतृत्वमा ११ सदस्यीय संयुक्त जिल्ला कमिटी समेत निर्माण गरिएको छ । समितिका अन्य सदस्यहरुमा विश्वास, आकाश, सुदीप, वि.वि, राजेन्द्र, लक्ष्मी, पैले, प्रेम, खिम, लाल लगायत रहेका छन् । सो अवसरमा पार्टी पिविएम तथा कर्णली प्रदेश इन्चार्ज सी.पी.र दैलेख जिल्ला बैठकमा प्रदेश सचिव तथा दैलेख इन्चार्ज अस्मानको उपस्थिति रहेको थियो । र, यसैक्रममा अखिल (क्रान्तिकारी)को सुर्खेत जिल्ला समेत गठन गरिएको छ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी पीवीएम अनुकूलका अनुसार यस प्रदेशभित्रका अधिकांश जिल्लाका बैठकहरु सम्पन्न भइसकेका छन् र कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, अछाम, बझाङमा अभियान सञ्चालन भइरहेका छन् । यसबीचमा, कैलालीमा भूमाफियाका विरुद्धको कारबाही तथा जग्गा कब्जा गरी सुकुम्बासीहरुलाई वितरण गरिएको छ भने अखिल (क्रान्तिकारी)को प्रदेश भेला सम्पन्न भएको छ । अन्य जबस मोर्चाहरुको भेला बैठक, गठन पुनर्गठन लगायतका कामहरु भइरहेको इन्चार्ज अनुकूलले बताए ।

नेताहरुका अनुसार अभियानको क्रममा विभिन्न कालखण्डमा पार्टी आन्दोलनमा सक्रिय भूमिका खेलेका तर विभिन्न कारणबश निस्क्रिय रहेका नेता कार्यकर्ताहरु, सहिद तथा वेपत्ता योद्धा परिवार, घाइते योद्धाहरुसँग भेटघाट अन्तक्र्रिया, पार्टी, देजमो तथा जबस मोर्चाका सदस्यता वितरण, पार्टी सदस्यताको नवीकरण, संगठन विस्तार, जनताले भोग्नु परेका समस्याहरु तथा अन्तरविरोधहरुको पहिचान, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई लिएर भण्डाफोर तथा सन्देश सभाहरु, जनसंघर्ष, वर्गसंघर्ष तथा प्रतिरोध संघर्ष उठानको आधार तयार पार्ने लगायतका कामहरु भइरहेका छन् । नयाँ जनवादी क्रान्तिको तयारीमा रहेको क्रान्तिकारी माओवादी अहिले संघर्ष–संगठन–संघर्षको मान्यतामा आधारित भएर देशव्यापी अभियानमा जुटेको छ ।