भरतपुर महानगरपालिकामा भएको मतपत्र च्यातिएको घटनामाथि छानबिन गर्न अनुगमन टोली गठन

595
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, १५, जेठ । चितवन भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको विषयलाई लिएर सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ । आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना संयोजक रहनुभएको अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो । आयोगको आजको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएको प्रतिवेदनका आधारमा घटनाको छानबिन गर्न टोलीका सदस्यमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक रहनुभएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । टोलीलाई घटनाको छानबिन गरी यही जेठ १७ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । टोलीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीका टोली प्रमुख र राजनीतिक दलसँगसमेत छलफल गरी प्रतिवेदन पेस गर्नेछ ।
निर्वाचन अधिकृतको कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं १९ को एक हजार ८०९ मतगणना पूरा भई बाँकी मतगणना भइरहँदा मतगणना प्रतिनिधिमध्ये केहीले मतगणनास्थलमा प्रवेश गरी मतगणना भएका र नभएकासमेत सयौँ मतपत्र च्यात्ने काम गरेको आयोगलाई जानकारी गराएको थियो । हिजो राति ११ः५५ बजे मतगणना स्थलमा असामान्य अवस्था सिर्जना उत्पन्न भई तत्काल मतगणना कार्य स्थगन गर्नुपरेको व्यहोराको प्रतिवेदन मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाउनुभएको थियो ।