दशैंको मुखमा मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने

425
views

काठमाडौँ, ११, असोज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उपभोक्तालाई मार पर्ने गरी अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । दशैँको नजिकिदै गर्दा मन्त्री यादवले वृद्धि भएको मूल्य शनिबारसम्म घटाएर उपभोक्तालाई राहत दिन व्यवसायीलाई आग्रह गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोति पत्रकार सम्मेलनमा मन्त्री यादवले व्यवसायीसँग छलफल भइरहेकाले शनिबारसम्म मासुको मूल्य पुरानै कायम हुने विश्वास व्यक्त गरे ।

दशैँको पूर्वसन्ध्यामा खसीको मासुको मूल्य एक सयदेखि दुई सय रुपियाँ वृद्धि भएर प्रतिकेजी एक हजार चार सय रुपियाँसम्म पुगेको छ । मासुको अभाव हुन नदिन तीन हजार खसी र च्याङ्ग्रा भित्र्याइएको जानकारी दिँदै मन्त्री यादवले मूल्य स्थिर नरहे अन्य उपभोग्य वस्तुजस्तै मन्त्रालयले मासु पनि आफैँ बिक्रीवितरण गर्ने बताए ।

पत्रकार सम्मेलनमा मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गरेको अनुगमनको विवरण पनि सार्वजनिक गरेको छ । मन्त्रालयले विवरणअनुसार असोजमा मात्रै ९१ वटा अनुगमन गरिएकोमा ३० वटा व्यापारिक फार्मसित स्पष्टीकरण माग गरिएको जनाएको छ ।

२५ वटा व्यापारिक प्रतिष्ठानलाई छ लाख ३० हजार रुपियाँ जरिवाना तिराइएको छ । तीन महिनामा कुल ४०१ अनुगमन गरिएकोमा १७४ लाई जरिवाना गरी २४ लाख ४७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ । दोषी ठहर भएका ४५ वटा व्यापारिक प्रतिष्ठानको सिलबन्दी र रोक्का गरिएको छ ।