आगामी आ.व.का लागि १२ खर्ब ७८ अर्बको बजेट सार्वजनिक

669
views

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । यसमध्ये चालु खर्चतर्फ ८ खर्ब, ३ अर्ब, ५३ करोड १४ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब, २७ करोड ५९ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । स्थानिय तहका लागि पहिलो पटक एकमुष्ठ रुपमा २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यो कुल बजेटको १७.६ प्रतिशत रकम हो। स्थानिय तहअन्तर्गत गाउँपालिकाको लागि १० देखि ३९ करोड रुपैयाँ, नगरपालिकाको लागि १५ देखि ४३ करोड रुपैयाँ र महानगरपालिकाको लागि ५६ करोडदेखि एक अर्ब २४ करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताउनुभएको छ ।
साथै, ७८ करोडसम्मको सशर्त अनुदान पनि पाउनेछन् । यो रकम स्थानिय तहको क्षेत्रफल, जनसंख्या, विकासको अवस्था र लागत समायोजन लगायतका सूचकलाई आधार बनाएर बिनियोजन गरिएको हो ।

अधिकार सम्पन्न स्थानिय तहले आफै कार्यक्रम तर्जुमा गरी उपलब्ध स्रोत परिचालन गर्न पाउनेछन् । स्थानिय तहमा विनियोजन गरिएको बजेटमध्ये ६० प्रतिशतभन्दा बढी रकम पूँजीगत खर्च हुनेछ। यो रकम केन्द्रिय अकाउन्टमा भने चालु खर्चका रुपमा रहनेछ ।