चिनियाँ राष्ट्रपति सी चिनिफिङको व्यस्त भेटघाट

462
views

काठमाडौं, २६, असोज । चिनियाँ राष्ट्रपति सी चिनिफिङले प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी राजनीतिक भेटवार्ताको शुरुवात गरे । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर होटेल सोल्टी फर्केलगत्तै देउवासँग एक्लाएक्लै भेट गरेका हुन् । देउवा पहिलोपटक प्रधानमन्त्री भएका बेला चिनियाँ राष्ट्रपति च्याङ चमिनले १९९६ मा नेपाल भ्रमण गरेका थिए ।

नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको मित्रता पुरानो छ । अहिले पनि चीनमा वीपी कोइरालाको नाम लिइन्छ । चिनियाँ राष्ट्रपतिले निकै महत्व दिँदै कांग्रेस सभापतिलाई सुरुमै भेट गरेको चिनियाँ अधिकारीले बताए ।

भेटमा खासगरी चिनियाँ कम्युनिस्ट पार्टी र कांग्रेस बीचको सम्बन्धलाई सहकार्य र थप अन्तरक्रियामुखी बनाउन सीले जोड दिएका थिए । उनले सभापति देउवालाई चीन भ्रमणको निम्तो समेत दिएका थिए । चिनियाँ राष्ट्रपतिले नेपालमा चीनविरोधी गतिविधि हुन नदिन र चीनसँगको सम्बन्धलाई कांग्रेसले दिएको महत्वप्रति धन्यवाद व्यक्त गरेको पनि बताए ।

उनले नेपाल चीनको सदाबहार र असल मित्र रहेकाले नेपालको विकासमा चीनले सक्दो सहयोग गर्ने जानकारी दिएका थिए । नेपालले बीआरआई परियोजनामा हस्ताक्षर गरेर त्यसको योजना अघि बढाएको विषयमा पनि जोड दिएका थिए । देउवाले सीसँग नेपाललाई चीनले देखाएको सदाशयताप्रति धन्यवाद दिँदै नेपालको विकास परियोजनामा सहयोग, लगानी, पर्यटन क्षेत्र प्रवद्र्धनमा सहकार्य गर्न आग्रह गरेका थिए । देउवासँग सी को करिब २० मिनेट भएको भेटमा विकास र सहकार्यकै कुराकानी भएको थियो ।

चीनले नेपालको पूर्वाधार विकासमा गर्दै आएको सहयोगको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री देउवाले आर्थिक रूपमा विश्वकै उदीयमान मुलुक चीनबाट नेपालको विकासमा थप लगानीका लागि आग्रह गरेका थिए । सभापति देउवाले एक चीन नीतिमा नेपाल र आफ्नो पार्टी प्रतिबद्ध रहेको तथा नेपालमा चीनविरुद्ध हुने कुनै पनि गतिविधि आफूहरूलाई स्वीकार्य नहुने धारणा सीसँग राखेका थिए ।

देउवालाई भेट्नुअघि विमानस्थलमा नै राष्ट्रपति सीले प्रधानमन्त्री केपी ओलीसँग एक्लाएक्लै भेटेका थिए ।