नेपाललाई ५६ अर्ब सहयोग गर्ने सी को घोषणा

521
views

काठमाडौं, २६, असोज । चिनियाँ राष्ट्रपति सी जीनफिङले नेपाललाई ५६ अर्ब भन्दा बढी सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा सी ले सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब चिनियाँ यूआन अर्थात ५६ अर्ब १७ करोड रूपैया सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

नेपालीको जीवनस्तर उकास्नका लागि भन्दै उनले सो रकम सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेका हुन् । राष्ट्रपति सी ले चीनले शान्तिपूर्ण सह–अस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताए ।

उनले हिमालपारी रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माण गरिने स्पष्ट पारे । चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रुपमा काम गर्न सकिने बताए ।

नेपाललाई अन्तरराष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेको समेत जानकारी दिए । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।