बलात्कारीलाई कडा सजाय माग

508
views

नयाँ दिल्ली, (एजेन्सी) । भारतको हैदराबाद सहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । भारतीय सासंद जया बच्चनले सोमबार संसदमा बोल्दै बलात्कारमा संलग्न व्यक्तिलाई ‘सार्वजनिकस्थलमा राखेर मार्नुपर्ने’ बताएकी छन् ।

सामूहिक बलात्कारपछि पशु चिकित्सक हत्याको विभिन्न राजनीतिक दलका कैयौं सांसदले पनि निन्दा गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । गत बुधबार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कुटरमा घरबाट निस्किएकी थिइन् । केही समयपछि उनले आफ्नो स्कुटर पन्चर भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको फोनबाट बहिनीलाई जानकारी दिएकी थिइन् । त्यसपछि सम्पर्कविहीन भएकी ती पशु चिकित्सकको जलेको शरीर फेला परेपछि भारतभर विरोध प्रदर्शन भइरहेका छन् ।

महिलाविरुद्ध हिंसाका विभिन्न चर्चित घटनामा सार्वजनिक रूपमा चर्को आक्रोश देखिए पनि भारतमा बलात्कार तथा हिंसाका घटना रोकिएका छैनन्। भारतीय सांसदले मंगलबार सदनमा महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न समेत गरेका थिए ।

बलिउडकी पूर्वनायिका तथा हाल भारतीय संसद्का सदस्य जया बच्चनले सांसदको तर्फबाट महिला सुरक्षाको प्रश्न र बलात्कारी तथा हत्यारालाई कडा कारबाहीको मागको नेतृत्व गरेकी थिइन् ।

भारतको दक्षिणी राज्य तामिलनाडुकी एक सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै सरकारको कडा आलोचना गरेकी थिइन् । उनले ‘पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्नमा संलग्न चारजना अपराधीलाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्ने’ भन्दै ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो भनेकी छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले यो घटना सम्पूर्ण देशका लागि लज्जास्पद भएको र यसबाट सबैको मन दुखेको बताएका छन् । साथै, यस घटनाको निन्दा गर्ने आफूसँग उचित शब्द नभएको पनि उनले बताएका छन् ।

सन् २०१२ को डिसेम्बर महिनामा दिल्लीमा एक महिलाको बसभित्र भएको सामूहिक बलात्कार र यसपछिको हत्याको प्रयासको घटनापछि ल्याइएका कडा कानुनले महिलाविरुद्धका अपराध कम गराउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।