मिलनचोकदेखि मृगसरोवर पुग्ने सडक कालोपत्रे हुदै

1038
views

पर्वत, २०, मंसिर । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकदेखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमका विच मिलनचोक, सल्यान, घाहाखेत धारापानी, ठोटनेरी सडकको शिलान्यास गरेका हुन ।

मिलनचोक, सल्यान, घायखेत, धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा, लेकफाँट, रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनीसम्म रिङरोडको अवधारणा सहित गण्डकी प्रदेश सरकारले उ्रक्त सडकलाई स्तरउन्नती सहित कालोपत्रे गर्ने योजना अघि सारेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपक आचार्यले बताए ।

साँघुरो सडकलाई १० मिटर फराकिलो बनाउनुका साथै सडकको ग्रेड मिलाउने र नाली बनाउने काम गरी कालोपत्रे गरिने उपभोक्ता समितिका आचार्यले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको एक प्रदेशसभा सदस्य एक नमुना सडक कार्यक्रम अनुसार सभामुख नेत्रनाथ अधिकारीले उक्त सडकको स्तरउन्नती सहित कालोपत्रे गर्ने योजना छनौट गरेका थिए ।

जलजला गाउँपालिकाको आयोजनामा आयोजित शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, जिसस प्रमुख मनोहर वि पौडेल, जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल लगायत राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्लले पाँचवर्ष भित्र गाउँपालिका भित्रका मुख्य ग्रामिण सडकहरु कालोपत्रे गर्ने योजनालाई गण्डकी प्रदेश र संघिय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

मिलनचोक देखि १० किलोमिटर सडक कालोपत्रे हुने छ । सडकको चौढाई ८ मिटर हुने छ । एकमिटर नाली र ७ मिटर कालोपत्रे हुने पूर्वाधार विकास कार्यालय पर्वतका सतिस सुवेदीले जानकारी दिए । २४ महिना भित्र योजना सम्पन्न गर्ने गरी हिन्दुङ थोकर कन्ट्रक्सन प्रा.लिसँग २८ करोड १३ लाख १० हजार ६ सय रुपैयामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

सडक निर्माण भएपछि धाइरिङको कृषि उपजलाई बजारीकरणमा सहयोग पुग्ने आशा गरिएको छ । प्राकृतिक पर्यटकीय स्थल जलजलाका साथै धार्मिक पर्यटकीय स्थल भुमेथानको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा गरिएको वडा अध्यक्ष टुङगनाथ आचार्यले बताए ।

सडक निर्माण पछि तरकारीको पकेट क्षेत्रका रुपमा परिचित धाइरिङ र तारेमा उत्पादित आलु लगायत तरकारीवालीको बजारीकरणका लागि सहज हुने अपेक्षा गरिएको छ । सो सडक मिलनचोकदेखि पवित्र धार्मिक तिर्थस्थल कालाञ्जार पहाडको मृगसरोवरसम्म पुग्ने सडकखण्ड हो ।