सेनाद्वारा निर्माणाधिन कालीगण्डकी करिडोर सडक डिभिजनलाई हस्तान्तरण

646
views

पर्वत । नेपाली सेनाले निर्माण जिम्मा लिएको कालीगण्डकी करिडोर अन्र्तगत गुल्मीको रुद्रवेनीदेखि अर्वेनी र बाग्लुङ्गको मालढुङ्गादेखि बलेवा एयरपोर्टसम्मको ३० कि.मि. सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरिएको छ ।

२०७० वैशाख २० गते उक्त करिडोर अन्तर्गतको सडक निर्माणको जिम्मा पाएको सेनाले रिडिदेखि रुद्रवेनीसम्मको ७ कि.मि. सडक खण्ड २०७५ फाल्गुण १ गते सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरिसकेको छ ।

चीन र भारतसँग जोड्ने सामरिक महत्वको कालीगण्डकी करिडोर मुलूकको आर्थिक सम्वृद्धिमा भाग्यरेखाको कार्य गर्ने सडक निर्माणलाई नेपाली सेनाले तिव्र गतिमा निर्माण गरेको छ ।

निर्माणाधिन कालीगण्डकी करिडोरको परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्मा, प्रधानसेनापति पूर्णचन्द्र थापाले स्थलगत निरीक्षण समेत गरेका छन ।

सडक हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाली सेनाले विकास निर्माणमा जोखिमपूर्ण अवस्थाको कठिन कार्य गर्दै महत्वपूर्ण घडीमा राष्ट्रलाई सहयोग गरेको स्मरण गर्दै कालीगण्डकी करिडोर ज्वलन्त उदाहरण भएको बताए ।

सोही क्रममा प्रधानसेनापति थापाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने गहन जिम्मेवारी नेपालको संविधानले नेपाली सेनालाई प्रदान गरेको बताउँदै विपद् व्यवस्थापन र राष्ट्र निर्माण लगायतका नेपाल सरकारले तोकेका कानुनसम्मत कार्यहरु संवैधानिक जिम्मेवारीहरु भएकोले संवैधानिक परिधिभित्र रही नेपाली सेना सदैव कटिवद्ध कार्य गरेको बताए ।