सिमा अतिक्रमणका विषयमा ज्ञापनपत्र दिन गएको टोलीमाथि प्रमकै आदेशमा दमन, प्रदेश नं ४ मा विरोध

639
views

पोखरा, १४, पौष । प–प्रधानमन्त्रीद्वारा अनुमति प्रदान गरिएको ज्ञापन पत्र बुझाउन गएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको टोलीमाथि प्रधानमन्त्रीकै आदेशमा भएको प्रहरी दमनको सर्वत्र विरोध भएको छ । देजमोका अध्यक्ष सीपी गजुरेलको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा भएको लाठी चार्ज र गिरफ्तारीको नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश नं ४ का सेक्रेटरी केश बहादुर परियार ‘किशोर’ द्वारा हस्ताक्षरीत विज्ञप्ति मार्फत विरोध जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘भारतले अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नक्सा लगायत राष्ट्रिय स्वाधीनताका विषयमा उप–प्रधानमन्त्रीको स्विकृति अनुसार सिंहदरवार जाने क्रममा भाटभटेनी सुपरमार्केट क्षेत्रमा नेपाल सरकारका प्रहरीहरुद्वारा अन्धाधुन्ध लाठीचार्ज गरी कार्यक्रममाथि अवरोध खडा गरि गिरफ्तार र घाईते बनाउने काम गरियो ।’

वक्तव्यमा गिरफ्तार हुनेमा स्थायी समिति सदस्यद्वय तथा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र महासचिव परिथापा, पार्टीका पीविएमद्वय पवनमान श्रेष्ठ तथासुरेश श्रेष्ठ, सीसीएमहरु दीपक शाही, हरिकृष्ण गजुरेल, फुर्नाम्गेल मोक्तान, वसन्त बोगटी लगायत खगेन्द्र छन्त्याल, पद्म भण्डारी, सुन्दर श्रेष्ठ, मीन प्रसाद गिरी, नरेन्द्र कार्की, अमित योञ्जन सहित पार्टी तथा मोर्चाका १५ जना भन्दा बढी नेता तथा कार्यकर्तालाई महेन्द्र पुलिस क्लवमा हिरासतमा राखिएको छ उल्लेख गरिएको छ ।

उक्त वक्तव्यमा उप–प्रधानमन्त्रीद्वारा अनुमति प्रदान गरिएको प्रतिनिधि मण्डलको भेटघाटको कार्यक्रममा यसरी सरकारद्वारा गरिएको निर्मम फासीवादी दमन, लाठी चार्ज र गिरफ्तारीको जोडदार विरोध तथा भत्र्सना गरिएको छ ।

साथै गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको अविलम्ब रिहाइ र घाइते तुल्याइएका नेता तथा कार्यकर्ताहरुको उपचारका लागि सरकारसंग जोडदार माग गरेको छ ।