लामिछानेको निधन : जसको टाउकाको मूल्य १० लाख तोकिएको थियो !

3970
views

पर्वत, २४, पौष । २०५२ साल फागुन १ गतेबाट शुरु भएको दशबर्षे जनयुद्वका एक अथक योद्धा महेन्द्रजंग लामिछानेको असामयिक निधन भएको छ । जनयुद्वका क्रममा सुरक्षा समितिले सिंहका रुपमा लिएका लामिछानेको विहिवार हृदयघातका कारण काठमाडौंमा निधन भएको हो ।

हाल समाजवादी पार्टीका केन्द्रिय सदस्य रहेका लामिछाने विद्यार्थी राजनीति हुँदै २०४४ सालदेखि राष्ट्रिय जनमोर्चाको गाउँ ईकाई कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा शुरु गरेका थिए । २०५४ सालमा नेकपा मालेको कार्यालय सचिव समेत भएका लामिछाने २०५६ सालमा नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्वमा लागेका थिए ।

तात्कालिन राज्यसत्ता विरुद्ध धावा बोलेको भन्दै तात्कालिन सरकारले लामिछानेको टाउकाको मुल्य १० लाख रुपैयाँ तोकेको सत्तारुढ नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले बताए ।

राजनीतिका यात्राका चारदशकसम्म वर्गिय आन्दोलनमा होमिएका लामिछाने प्रखरवक्ताका साथै जनयुद्धका सक्षम लिडरका रुपमा चिनिदै आएका थिए ।

उनलाई नजिकबाट नियाल्ने सहयोद्धा विष्णु लामिछानेका अनुसार पर्वतको सुरक्षा समितिको बैठकले सिंहको रुपमा हेरिएका लामिछानेलाई तात्कालिन सेनाले मोष्ट वाण्टेडको सूचिमा राखेको बताउँछन् ।

हृदयघातका कारण निधन हुन पुगेका लामिछाने राजनीतिक रुपमा निडर नेताको छवि बनाउनुका साथै कुशल नेतृत्व, सामाजिक भावना र वर्गिय आन्दोलनमा कट्टर नेताका रुपमा चिनिदै आएको राजनीतिक सहकर्मीहरुको बुझाई छ ।

सहकारी महासंघको साधारण सभामा जानेक्रममा गाडीमा अचानक बेहोस भएको र बानेश्वर स्थित सिभिल अस्पतालले मृत घोषणा गरेको हो । पारिवारिक स्रोतका अनुसार मृतक लामिछानेको शव पो्ष्ट मार्टमको लागि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको छ । लामिछानेको जन्म २०२५÷२÷१० गते भएको थियो । उनका एक छोरा, ३ छोरी र श्रीमती छन ।