नगरवासी भन्छन्–‘मझेरीमै घाम’

गाउँको वस्तुगत अवस्था भनेको नै आवश्यकता हेरेर काम गर्नु हो

2192
views

गोपाल जिसी
पर्वत, ८, माघ । फलेवास नगरपालिकाको निर्णय अनुसार नगरपालिका अन्तर्गतका वडाहरुले अनावश्यक तप्केनी र झाडी फँडानी गरेपछि स्थानीयवासी हर्षित बनेका छन् । उनीहरु भन्छन् ‘झाडीे, ओसेप, तप्केनीले छेकेको थियो, फडानीपछि मझेरीमै घाम लागेको छ ।’ वडा कार्यालयसँगको समन्वय र नगरवासीको सक्रियतामा टोल विकास समितिले शौचालयदेखि पाँच र घरदेखि २० मिटरको दुरीका रूख विरूवासँगै झाडी फडानी गर्न लगाएपछि मझेरीमै घाम पर्न थालेको नगरवासीको भनाई छ ।

समितिले फलफुल जोगाउदै अनावश्यक तप्केनी फडानी गर्न लगाएपछि स्थानीयले उक्त कुरा स्विकार गरेका छन् । घर वरपर अग्ला अग्ला रुखहरु भएपछि घामको समेत पर्दैनथ्यो भने खेतीयोग्य जमिन समेत विग्रिदै गएको थियो, अहिले टोल विकासका लागि आएको फडानी कार्यक्रमले घरवरपर सरसफाईका साथै घाम पर्न थालेको सर्वसाधारणको भनाई छ ।

घरवरपर भएको झाडीका कारण पिँढीबाटै बाघले गाई, बाच्छा, भेडा बाख्रा, मान्छे लैजाने अवस्था आएको थियो, एउटाको रुख विरुवाहरु अर्कोले फडानी गर्न पाईदैनथ्यो, अहिले टोल विकास समितिले फडानी कार्यक्रम ल्याएपछि स्थानीयलाई राहत मिलेको फनपा–३ का डम्बर बहादुर जिसीको भनाई छ । जिसीले भने ‘नगरपालिका तथा वडा कार्यालयको समन्वयमा टोल विकास समितिले गरेको निर्णय सहि छ, कसैले गलत भनेर हुदैन, उनले भने ‘बजारको छतमा बसेर गाउँको वस्तुगत स्थिति बुझ्न कठिन हुन्छ ।’

जिसीले कोही-कोही फडानीमा हौसिएको भन्दै नहौसिन समेत आग्रह गरे । उनले वर, पिपल वा समीका रूख थुम्याउन सुझाव दिदै भने ‘नगरपालिका बौलायो भन्ने सुनेको छु ति बुद्दिजिवि भनाउँदा पटमुर्खलाई मेरो सुझाव छ, हाम्रै वडामा केहीबर्ष अगाडी बाघले मान्छे खायो, दम निमोनियाका बिरामीलाई ओसेप, चिसोले लग्यो, त्यस्तो झाडी नफाडेर पर्यावरण जोगाउने ।’

यस्तै फनपा–३ का खडक बहादुर थापाले पनि फडानी कार्यक्रमलाई अक्षरस पालना गर्न सुझाव दिए । थापाले भने ‘कसैका फडानी गर्ने, कसैले नगर्ने बन्न हुँदैन, घरवरपर हुर्किएका रुखहरु फालेर फलफुलका विरुवा लगाउने योजनाहरु ल्याउनुपर्दछ ।

स्थानीय सरकारले गरेको निर्णयमा मापदण्ड अनुसार घरवरपरका रुख विरुवाहरुको फडानी गर्दा सर्वसाधारणहरुलाई नै फाईदा पुगेको फलेवास नगरपालिका वडा नं ३ का अध्यक्ष अर्जुन बहादुर कार्कीको भनाई छ । वडा कार्यालयले टोल विकास संस्थाले हरेक टोलटोलमा स्थानीयवासीको सहमति गरी मापदण्ड अनुसार फडानी कार्यक्रमलाई अगाडी ल्याएको उनले बताए ।

नगरवासीबाट घर वरपरका रुख बोट, झाडीहरु फडानी गर्न अनुरोध गर्दै निवेदन उजुरीहरु हालेका कारण टोल विकास समितिले स्थानीयवासीको सहमतिमा फडानी कार्यक्रमलाई मापदण्डअनुसार अगाडी बढाएको र झाडी हटाउन निवेदन आएको फलेवास नगरपालिकाले जनाएको छ ।

नगरवासीहरु घर, खेती, तथा फलफुललाई ओसेप र बस्न नसक्ने अवस्था आएपछि स्वतस्फूर्त रुपमा टोल विकास संस्थामार्फत झाडी फडानी र ठुलाठुला रुख विरुवाहरुको फडानीमा लागेको नगरप्रमुख पदमपाणी शर्माले बताए । उनले भने ‘नगरभित्रको वस्तुगत अवस्था हेर्दा र नगरवाबासीको फडानी गर्नुपर्ने माग जायज सँगै झाडी र ठूलाठूला रुख विरुवा फालेर फलफुल खेती गर्दा उपयुक्त हुने ठानेका छौं ।’