जग्गा दर्जीको, घाँस मन्त्री लम्साल दाजुभाईको

5851
views

पर्वत, १०, माघ । फलेवास नगरपालिका वडा नं ५ का ल्याम बहादुर दर्जीसँग राहालचौरमा साढे तीन रोपनी जग्गा छ । उनीसँग भएको जग्गामा बडहरका ठूलाठूला रुखहरु छन् । आफ्नो जग्गामा भएको वडहरको घाँस काट्न ल्याम बहादुरले कहिल्यै पनि पाएनन् । ७०/८० बर्षभन्दा अगाडीदेखि नै गण्डकी प्रदेशका उद्योग वन पर्यटन मन्त्री विकास लम्सालका बाबुबाजे, दाजुभाईहले हरेक बर्ष बडहरको घाँस काटेर लैजाने गरेको ल्याम बहादुरले सुनाए ।

ल्याम बहादुर दर्जीका बाबु हस्ते दर्जीले ८० बर्ष अगाडी साहु खलकमा गनिएका लम्सालहरुको जग्गा खरीद गरेका थिए । हस्ते दर्जीले जग्गा राजिनामा गरेपनि त्यति नै बेलादेखी वडहरको घाँस लम्साल परिवारलाई नै दिनुपर्ने भयो ।

बाबु हस्ते दर्जीपछि छोरा ल्यामबहादुरको नाममा आएको सोही जग्गामा भएका वडहरको घाँस ल्याम बहादुरले आजसम्म पनि काट्न नपाएको बताउँदै मन्त्रीका दाजुभाईहरुले नै घाँस काट्ने गरेको बताए ।

ल्याम बहादुरले भने ‘साढे पाँच रोपनी जग्गा थियो, अहिले २ रोपनी जग्गा विक्री गरिसकें, जग्गा हाम्रो नाउँमा छ, जग्गामा भएका १७ भन्दा बढी वडहरको घाँस मन्त्री विकास लम्सालका दाजुभाईहरुले नै काटेर लैजान्छन्, बाबु बाजेका पालामा त घाँस काटेर घरमै लगिदिनुपर्दथ्यो, सानो उमेरमा मैले पनि घरमै लगिदिएको थिएँ ।’

दर्जीले खेतमा भएका ठुलाठुला बडहरका रुखहरुको तप्केनीले कोदो, बोडी, सिमी, स्याल्टुङ्ग वडहर काट्दा थमारिएर उब्जनी समेत खान नपाएको सुनाउँदै भने ‘नगरपालिकाभित्र टोल विकास समितिले ल्याएको फडानी अभियानले ति बुटाहरु समेत कटानी गर्न टाँचा लगाएकोले निकै खुसी भएको छु ।’

ल्याम बहादुरले झण्डै ७०÷८० बर्षपछि पैतृक सम्पत्तिबाट उब्जनी खान पाउने भएपछि खुसी हुँदै टोलविकास समितले ल्याएको फडानी अभियानसँगै फलफुल तथा कृषिजन्य खेती गर्न अनुदान सहयोग गर्यो भने आफ्नो बारीमा लटरम्म तरकारी उत्पादन गर्ने सोंच बनाएको बताए ।

ल्याम बहादुर दर्जीको कुरामा सर्मथन जनाउँदै स्थानीय गोपाल लम्सालले गरीब किसानका जग्गामा साहु महाजनको पुरानो हैकम ल्याम बहादुरको पालासम्म आएको बताए । उनले भने ‘लम्साल परिवारको पैतृक हैकम समेत फडानी अभियानले हटाउन मद्दत गर्नेछ भन्ने लागेको छ ।’

नगरवासीको बोट, विरुवा, रुख, झाडी फडानी अभियानले दर्जी परिवारमाथि जमाउँदै आएको सामन्तवादी एकल हैकमको अन्त्यसँगै मन्त्री लम्सालका दाजुभाईले उक्त दर्जी परिवारको वारीमा रहेका वडहरको घाँस दाउरा उपभोग गर्न नपाउने भएका छन् ।

यहाँका अधिकाँस बासिन्दाले लम्साल परिवारको पुरानै परम्परा गणतन्त्रसम्म पनि नमेटिएको बताउँछन् । ल्याम बहादुरको मात्र नभई लम्साल भाईवन्धुको जग्गा राजिनामा खाएका धेरैले वडहर, खनिमको घाँस छाड्नु परेको छ ।