दृष्टिबिहीन विद्यार्थीले पाए शैक्षिक सामग्री

1016
views

निर्मल पौडेल
पर्वत, १०, माघ । जिल्ला सदरमुकाम कुश्मामा रहेको श्री शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिबिहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुले आफूलाई आवश्यक शैक्षिक सामग्री प्राप्त गरेका छन् । आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच दृष्टिबिहीन छात्रछात्राहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय बाणिज्य बैंक स्थापनाको ५५ औं वार्षिकोत्सवको सन्दर्भमा बैंकको कुश्मा शाखाले शैक्षिक सामग्री प्रदान गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले बैंकले प्रदान गरेको शैक्षिक सामग्रीले दृष्टिबिहीन विद्यार्थीहरुको पठनपाठन क्रियाकलापमा सहजता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय बाणिज्य बैंक कुश्मा शाखाका प्रबन्धक नवराज ढुंगानाले आफूहरुले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तरगत शिवालय माध्यमिक विद्यालय दृष्टिबिहीन स्रोत कक्षामा पढ्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको र आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिन सकिने जानकारी दिनुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ६ का अध्यक्ष रुद्र गिरी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी, शिवालय बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा निमित्त प्रधानाध्यापक लेखनाथ उपाध्याय, विद्यालय व्यवस्थापन समितिका सदस्य मानकुमारी गिरी, राष्ट्रिय बाणिज्य बैंक कुश्मा शाखाका अधिकृत लोकप्रकाश पौडेललगायतले बोल्नुभएको थियो ।

दृष्टिबिहीन स्रोत शिक्षक हरीदत्त शर्मा, शिक्षक ढाकाराम पुरी, बैंकका अन्य कर्मचारीसहित दृष्टिबिहीन छात्रछात्राको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले गर्नुभएको थियो ।