जुनियर युवा रेडक्रसको ४० औं राष्ट्रिय गोष्ठी सम्पन

720
views

गोरखा । नेतृत्वदाही भुमिकामा ‘जुनियर र युवा हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित गोरखाको सदरमुकाममा आयोजित दुई दिने ४० औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न भएको छ । देशका विभिन्न स्थानबाट आएका यूवाहरुले आन्तरिक पर्यटनलाई समेत अभिबृद्धि गर्ने अभिप्रायले लखन थापा पार्क लगायत गोरखाका विभिन्न ऐतिहासिक स्थानमा भ्रमण गर्दैछन् । नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माबिको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्लाका १९५ युवाको सहभागिता रहेको थियो ।

जुनियर तथा युवा रेडक्रसको संगठनात्मक विकासलाई थप प्रभावकारी बनाउन समयमै सर्कल गठन तथा पुनर्गठन गरी वर्षैभरि बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र ती गतिविधिहरु सञ्चालन गर्ने क्रममा स्थानीय स्तरमै स्रोत संकलन तथा परिचालनमा विशेष जोड दिनेलगायतका महत्वपूर्ण प्रतिवद्धता र सहमतिहरु सहित १३ बुँदे गोरखा घोषणपत्र जारी गरिएको छ ।

देशभरिका जुनियर तथा युवा सर्कललाई बिभिन्न प्राकृतिक र मानवीय मुद्दाहरुमा बहस पैरवी र क्षमता अभिवृद्धि गरी सबलीकरण अभियान सञ्चालन गर्न यूवाहरुले प्रतिवद्धता जाहेर गरेका नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । सडक सुरक्षा र प्राथमिक उपचार, विपद ब्यवस्थापन र कृतिम घटना अभ्यास,नोवेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपायहरू, साइबर बुलिङ, रक्तदानमा युवाहरूको भूमिका जस्ता बिषयमा भएको छलफल उत्कृष्ट रहेको र ती क्षेत्रमा युवाहरुको सचेतना अभियान बढाउन यूवाहरुले महत्वपूर्ण भूमिका खेल्ने जुनियर बिभाग निर्देशक सुदर्शन अधिकारीले अपेक्षा गर्नुभयो ।

नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माबिको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्ला शाखाका १९५ प्रतिनिधिहरु, नेरेसो केन्द्रीय पदाधिकारीहरु, प्रदेश र आतिथ्य जिल्लाको कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको थियो ।