दक्षिण कोरियामा कोरोनाले २१ जनाको मृत्यु, ३ हजार ७३० जना संक्रमित

मरेपछि पादरीले स्वर्ग पुर्‍याउने भन्दै संक्रमितले एक-अर्कोलाई सारिदिए

680
views

एजेन्सी, १९, फागुन । दक्षिण कोरियाको चर्चका पादरीहरुले कोरोना संक्रमितको नाम लुकाउँदा कैयौंको मृत्यु भएको खुलेको छ । सिञ्चेओन्जी चर्चले संक्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको छ ।

आफूलाई जिसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका ८८ बर्षीय पादरी म्यान हिका करिब १ लाख ४४ हजार भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्‍याउने विश्वास गर्दै भाइरस संक्रमण एक-अर्कोमा सारेको बताइएको छ ।

दक्षिण कोरियाबाहिर पनि यो धार्मिक समूहका करिब २० हजार भक्तजन रहेको बताइन्छ । अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणका कारण २१ जनाको ज्यान गएको छ भने ३ हजार ७३० जना संक्रमित भएका छन् ।

संक्रमितहरुमध्ये आधा संख्या त सञ्चेओन्जी चर्चकै सदस्यहरु रहेको बताइएको छ। यो संख्या घन्टैपिच्छे बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।सञ्चेओन्जी चर्चका सदस्यहरुले एक–अर्कोलाई संक्रमित बनाएको र देशैभर कोरोना फैलाएको सरकारी अधिकारीहरुले बताएका छन् । वरिष्ठ सदस्य किम सीन च्याङले चर्चले गरेको गल्तीप्रति माफी मागेका छन् ।

राजधानी सियोलको स्थानीय सरकारले अभियोजनकर्ताहरुलाई सो चर्चका संस्थापक म्यान ही र अन्य ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको छ । उनीहरुमाथि कोरियामा भाइरस संक्रमण आम रुपमा फैलनुअघि संक्रमितहरुलाई नियमन गर्ने क्रममा नाम लुकाएको आरोप लागेको छ । यतिखेर चीनपछि दक्षिण कोरियामा कोरोना भाइसर संक्रमणको अवस्था सबैभन्दा खराब छ ।