हतियारसहित प्रतिबन्धित नेकपाका १४ जना पक्राउ

927
views

उदयपुर, ३०, फागुन । उदयपुरवाट ठूलो परिमाणमा हतियारसहित प्रतिन्धित विप्लव नेतृत्वको नेकपाका १४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जङ्गलबाट प्रहरीले ठूलो परिमाणको हातहतियारसहित चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका १४ जना कार्यकर्तालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी उदयपुर, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त टोलीले बिहीबार (२९ फागुन) मा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार बुधबार नै धनुषाको गणेमानचारनाथ नगरपालिका–४ गौरीनाथको १४ वर्षीय बालिका करिना मोक्तानलाई अपरहण गरेर उदयपुर ल्याएको सूचनाको आधारमा प्रहरीले सो जङ्गलमा खोजी गर्दा ती १४ जनालाई हातहतियारसहित पक्राउ गरी अपरहणमा परेकी मोक्तानलाई उद्धार गरेको थियो ।

हातहतियार सहित पक्राउ पर्नेमा २० वर्षीय मुस्कान राई, २८ वर्षीय विवेश खड्का, १६ वर्षीय रिता कार्की, २० वर्षीय विकास राई, १७ वर्षीय आयुष मगर र १८ वर्षीय अविमान तामाङ रहेको प्रहरीले जनाएको छ ।

यसैगरी २० वर्षीय आशिष लामा, १६ वर्षीय रञ्जना राई, १९ वर्षीय अनिता राई, १९ वर्षीय अनुश्का राउत, १७ वर्षीय सपना राई, ४६ वर्षीय मणीराज राई र १५ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका चन्द समूहका कार्यकर्ताबाट तीन थान पेस्तोल, एक थान म्यागेजेन, ११ थान प्रेसरकुकर बम, ११ थान सकेट बम, तीन थान डेटोनेटर, तीन थान खुकुरी बरामद गरिएको प्रहरीको दाबी छ ।

पक्राउ गरिएका १४ जनासहित उद्धार गरिएकी बालिकालाई प्रदेश नं २ का प्रहरी प्रमुख प्रधुम्न कार्कीको उपस्थितिमा उदयपुरबाट धनुषालाई बुझाइएको छ । बरामद गरिएका सबै हतियार नेपाली सेनाको टोलीले निष्कृय गरेको प्रहरीले जनाएको छ ।