शैक्षिक सूचना ब्यबस्थापनका लागि शिक्षकलाई तालिम

1389
views

महेन्द्र जिसी
पर्वत, ३, चैत्र । शैक्षिक सूचना ब्यबस्थापन प्रणालीको विकासका लागि कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाले तीनदिने तालिम दिएको छ । नगरपालिकाभित्रका विद्यालयहरुलाई शैक्षिक सूचना ब्यबस्थापन प्रणाली तालिम सञ्चालन गरेको छ । (आइईएमआईएस) तालिम मार्फत विद्यालयहरुको तथ्याङ्क व्यवस्थापन गर्न तालिम सञ्चालन गरीएको हो ।

विद्यालयको अवस्था विद्यार्र्थीको संख्या शिक्षक अनुपात तथा विद्यालयले पाउनुपर्ने सेवा सुविधाको पारदर्शिताको लागि पनि तालिम सञ्चालन गरीएको हो । तालिमका प्रशिक्षक तथा नगर शिक्षा प्रमुख विष्णुप्रसाद तिवारीले प्रत्येक बिद्यालयलाई प्रविधिमैत्री बनाउने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्वेश्यले तालिमको आयोजना गरिएको जानाकारी दिए ।

तालिम सहजकर्ता नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले युग र प्रविधि अनुसारको शैक्षणिक सीपको विकासका लागि तालिम अपरिहार्य भएको बताए । विगतमा शैक्षिक तथ्याङ्क भर्दा धेरै त्रुटी हुने गरेका कारण अहिले कम्प्युटरसहित शिक्षकहरुलाई तालिममा सहभागि गराएर अभ्यास गराइएको बताए ।

ईएमआईएस तालिममा शिक्षकहरुलाई आईसीटी कक्षा तथा विद्यार्थीहरुको कक्षा गत विवरण अभिलेख राख्न तथा नगरपालिकाको शिक्षा शाखाको वेव साईटमा अभिलेखीकरण गर्ने तरीका तथा सफ्टवेयर सञ्चालनको विधिबारे सिकाईएको थियो । तालिममा कुश्मा नगरक्षेत्रका संस्थागत र सामुदायिक गरि ८१ वटा विद्यालयका शिक्षकहरु सहभागी भएका छन् ।