कास्की अदालतका उपसचिव पराजुली ३० हजार घुससहित पक्राउ

784
views

कास्की, ६, चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपैयाँ घुससहित बुधबार राति पक्रेको छ । पोखरा महानगरपालिका-५ पर्स्याङको मदिरा पसलबाट उनी उक्त घुस रकमसहित पक्राउ परेका हुन् । मदिरा पसलमा मुद्दाका एक पक्षसँग घुस लिइसकेपछि उनी पक्राउ परेका हुन् ।

अख्तियारको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले पराजुली पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै उपसचिवसमेत रहेका पराजुलीले घुस मागेका थिए ।

सुरुमा पराजुलीले ५० हजार रुपैयाँ घुस मागेको खुलेको छ । तर बार्गेनिङका क्रममा ३० हजारमा कुरो मिलेपछि उनी घुस लिन रेस्टुरेन्टमा पसेका थिए ।

घुससहित पक्राउ परेका पराजुलीको कास्की जिल्ला अदालतबाट सर्वोच्च अदालत काठमाडौंमा सरुवा भइसकेको थियो । पटक पटक विवादमा मुछिएका उनी रमाना पनि बुझेर काठमाडौं हिँड्ने बेला पक्राउ परेका हुन् ।

यसअघि बागलुङमा हुँदा पनि उनको भूमिका विवादास्पद देखिएको थियो । मुद्दामै गडबडी गरेको भन्दै बागलुङमा उनीमाथि आक्रमण भएको थियो ।