सल्यानको त्रिवेणीमा मास्क उत्पादन सुरु

650
views

सल्यान, ६, चैत । जिल्लाको त्रिवेणी गाउँपालिकाले मास्क उत्पादन सुरु गरेको छ । कोरोना भाइरसको सन्त्रासका कारण मास्क अभाव हुन थालेपछि गाउँपालिकाले स्थानीय २० जनालाई सिलाई कटाई तालिम दिएर मास्क उत्पादन सुरु गरेको गाउँपालिकाले जनाएको छ । अहिले दैनिक तीन सय मास्क उत्पादन भइरहेको गाउँपालिका उपाध्यक्ष करुण खड्काले बताइन् ।

यसअघि मास्क उत्पादन नगरे पनि अभाव हुन थालेपछि उत्पादन थालिएको खड्काले बताइन् । उनले भनिन्, ‘विगतका वर्षमा विभिन्न सीपमूलक तालिम दिइरहेको समयमा यस वर्ष विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाइरसबाट बच्न मास्क उत्पादनसम्बन्धी तालिम दिएर उत्पादन गरिरहेका छौं ।’ उत्पादन भएको मास्क पहिलो चरणमा गाउँपालिकाका सबै कर्मचारीलाई निःशुल्क वितरण गरिएको र अब गाउँपालिकाभित्रका सम्पूर्ण नागरिकलाई वितरण गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभातकुमार श्रेष्ठले बताए ।