कोरोनाबारे भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु पक्राउ

465
views

पोखरा, ११, चैत । प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु केशवराज आचार्यलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ कास्की प्रहरीले पक्रेर हिरासतमा राखेको डीएसपी राजकुमार केसीले जानकारी दिए ।

यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै आचार्यले धेरैको संख्यामा उपस्थित गराएर प्रवचन दिएको प्रहरीको भनाई छ ।

उनको प्रवचनको भिडियो समेत सामाजिक सञ्जालमा भाइरलै भएको थियो । ‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन’, आचार्यले प्रवचनमा दाबी गरेका थिए, ‘प्रभु यशुको कृपा चीनमा रहेको छ ।’

प्रभु यशुको कृपाबाटै चीनमा भाइरस नष्ट भइसकेको उनको भनाइ थियो । प्रशस्त कटनी मण्डली पोखरा २९ का पास्चर आचार्यको स्थायी ठेगाना भने जुम्ला हो ।