बिन्ती छ सरकार : जिराका पोका देखाएर गरिबको खिसी नगरिदेउ !

1542
views

बिश्वसमुदाय अहिले कोरोना भाइरस कोभिड–१९ बाट प्रताडित छ । नेपाल पनि ज्यादै प्रभावित छ । यसबाट सबैलाई आफ्नैखाले पिरलो थप गरिदिएको छ । अझै बिपन्न गरिब बर्गलाई दिनु पीडा दिएको छ । दिनभरी घन ठोकेर साँझ छाक टार्ने र मन बुझाउनेलाई अहिले टाउको ठोक्ने बनाएको छ । मन थिलोथिलो पारेको छ । गाउँगाउँका मजदुरहरु आत्तिएका छन, अत्तालिएका छन ।

यो बेला सरकारले सबै संयन्त्र परिचालन गर्दै रोग रोकथामका लागि यथेष्ट उपाय अपनाएर जनतालाई अभिभावकत्व दिनुपर्नेमा उल्टै भ्रष्टाचारको गन्धले ह्वास्स गह्नाउँदा जनताको मनोबल कम्जोर भएको छ । यो आहातको अबस्थामा सरकारको हर्कत देख्दा जनताले बिश्वास पाल्नु लगभग फगत झिनो आस भएको छ ।

सरकारले गरिब बिपन्नका लागि भन्दै २ हजार सम्मको राहत दिने घोषणालाई ल स्वागत गरौं तर यसो सोच्न थाल्दा के चाहिँ गर्छ हँ २ हजारले ! कुन चाहिँ परिवार सरकारले २ हजार दियो भनेर मुस्कुराए होला र ! हात्तीको मुखमा जीरा जस्तैः छ । कुनै गरिब मजदुरले आफ्नो बुढीसंग भन्दो हो ‘बुढी तिमी र म एकदिन काम गर्दा पनि लगभग २ हजार त कमाइन्छ, अब हामी सरकारले दिएको २ हजारको खाद्यान्नले महिनौं कसरी बाँच्ने ।’ सरकार गरिबलाई किन जिस्काएको छ तेल र जीराका पोकाले, किन खिसी गरिरहेछ गरिबको ?

सरकारले गरिब बिपन्नका लागि भन्दै २ हजार सम्मको राहत दिने घोषणालाई ल स्वागत गरौं तर यसो सोच्न थाल्दा के चाहिँ गर्छ हँ २ हजारले ! कुन चाहिँ परिवार सरकारले २ हजार दियो भनेर मुस्कुराए होला र !

अनि, भन्छ सरकार अन्य संघ÷संस्था ब्यक्तिले राहत दिन पाइदैन । कार्वाही गर्छौ । एकद्वार प्रणालीबाट गर्ने । अरे, सरकारको एकद्वार प्रणाली भनेको गरिबलाई केहिथरी समान देखाए जिस्काउने हो ? कुनै संस्था वा ब्यक्तिले आफ्नो छाक काटेर कोही गरिबको छाक टार्छ भने किन टाउको दुख्न परेको सिटामोल खाएर टाउको छ्ट्केको मत्थर पारे हुन्छ । गरिबको टाउको टेकेर उद्धार मन भएकालाई छेकीरहेछ सरकार । कुश्माको अग्लो पुलमा ताल्चा ठोकेर वार लगाए जस्तै ।

कोरोना रोगले त मार्छ कि के गर्छ तर जनतालाई भोकले पक्कै मार्न सक्छ । रोग कोरोना मात्रै हैन, कोरोना छेक्दा अर्को रोगले बाँध नभत्काओस् । जनता घाउमा मल्हम चाहिएको हो नुन हैन । जनताले पेटमा अन्न खोजेका हुन ढाडमा लठ्ठी हैन । यो अबस्थामा जनताले सरकार छ भनेर ढुक्क भएर बाँच्न चहान्छन, त्रासले घुँक रुन हैन । बिन्ती छ सरकार तिम्रा प्रतिनिधि दुईमाना चामल जिरा र नुनका पोका बोकेर गरिबको घर नपठाएदेउ । यतिबेला गरिबहरु नमस्कार गर्ने ताकतमा छैनन, गरिबको खिसी नगरिदेउ । बिन्ती छ ।