विनाशकारी आँधीका कारण अमेरिकामा ११ को मृत्यु

491
views

अमेरिकामा आएको विनाशकारी आँधीका कारण एघार जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण संकलन हुँदै गरेको बताइएको छ ।

कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मानवीय क्षति भएको छ । अमेरिकी सञ्चार माध्यमहरुले सोमबार (१३ अप्रिल) जनाएअनुसार घटना आइतबार भएको थियो ।

मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँधीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । मिसिसिपीका गभर्नर टाटे रिभेसले सामाजिक सञ्जाल ट्वीटर मार्फत् राज्यभरी संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिदै राज्यमा संकटकालको घोषणा गर्नु परेको छ ।’ एपीले जनाएअनुसार उनले आँधीबाट पीडितहरुलाई सरकारले खोजी तथा उद्धार गरिरहेको जानकारी पनि दिएका छन् ।

‘आँधीबाट प्रभावित हाम्रा नागरिक र उनीहरुको संम्पत्तिको रक्षा गर्न खोजी तथा उद्धारका लागि हामीले हाम्रा श्रोत साधनहरु परिचालन गरेका छौँ,’ गभर्नर रिभेसले लेखेका छन् ।

उनले कोही पनि नागरिक एक्लै नरहेको र उनीहरुको साथमा सरकार रहेको बताउदै चिन्ता नलिन आग्रह गरेका छन् ।