नेकपामा देखिएको विवाद सुल्झाउन कार्यदल गठन

710
views

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेकपामा देखिएको विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाइएको छ । जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको महासचिव पौडेलले जानकारी दिए ।

कार्यदलमा पौडेलसहित जनार्दन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे छन्। कार्यदलमा नेकपाभित्र अहिले देखिएका तीनै समूहका नेता समेटिएका छन् ।

महासचिव पौडेल र पोखरेल ओली समूहका हुन् । त्यसैगरी जनार्दन शर्मा र पम्फा भुसाल दाहाल समूहका हुन भने भीम रावल र सुरेन्द्र पाण्डे नेपाल समूहका हुन् । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा बसेको बैठकपछि यो निर्णय आएको हो ।

बिहीबार बसेका दुई अध्यक्षको वार्ता सकारात्मक दिशामा अघि बढेको थियो। यस्तोमा शुक्रबार दुई अध्यक्षले महासचिव पौडेलको संयोजकत्वमा कार्यदल बनाएको हो ।

यसअघि यही बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा देखिएको विवाद पाँच दिनभित्र समाधानको दिशामा जाने बताएका थिए । नेकपामा ओलीको कार्यशैलीलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ ।

ओलीले एकलौटी अघि बढ्न खोजेको भन्दै अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितले चर्को आलोचना गर्दै आएका थिए ।