३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा चल्यो उम्मेदवारी मनोनयन दर्ताको लहर

625
views

काठमाण्डौ, ४, असार । निर्वाचन आयोगले असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज हुने उम्मेदवार मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
दोस्रो चरणको ‘स्थानीय तह निर्वाचन’को तयारीका विषयमा आयोगको मिडिया सेन्टरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन हार्दिक अपिल गर्नुभयो ।
उम्मेदवारी दर्ताका लागि असार ४ गते आइतबार बिहानको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन तोकिएकै मिति असार १४ गते हुनेमा ढुक्क रहन मतदाता, राजनीतिक दल, नागरिक समाज, आमसञ्चार जगत् र सरोकारवालासँग अनुरोध गर्दै उहाँले निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र निर्वाचनमैत्री बनाउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – “राजनीतिक दलले जनताको अधिकारलाई सुनिश्चित गर्न, मताधिकारको सम्मान गर्न र आफूले रोजेको उम्मेदवारलाई छान्न पाउने मतदाताको सार्वभौम अधिकारलाई पूर्ण सम्मान गर्नेछन् ।”
मुलुकका एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुने यस दोश्रो चरणको निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वा्चित हुने निर्वाचन आयोगले जनाएको छ ।
देशभर चारहजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र रहने दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ ।
आयोगले दोस्रो चरणको निर्वाचनमा प्रदेश नं १, ५ र ७ मा गरी प्रतिमतदान केन्द्र कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब आठ हजार ३५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरेको छ ।
दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४७ वटा संस्थाका करिब सात हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिइसकेको छ भने कूटनीतिक नियोगका सदस्यहरूलाई देशका विभिन्न आठवटा सहरमा निर्वाचन अवलोकनको व्यवस्था मिलाएको छ ।